काठमाडौँमा दशैँका खसीबोका शुक्रबार झर्ने

काठमाडौँमा दशैँका खसीबोका शुक्रबार झर्ने

दशै तिहारलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आउँदो शुक्रबारदेखि खसीबोका बिकी वितरण शुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।

गत वर्ष एक हजार खसीबोका र त्यति नै च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्रि गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।

तर, यस बर्ष च्याङ्ग्रा नपाइएको कारण कम्पनीले च्याङ्ग्रा बिक्री नगर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकारी शर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्ट राजधानीमा खसीबोका बिक्री वितरण शुरु गर्ने जानकारी दिएकी छन् ।

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले बताइन् । कम्पनीले निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने उनको भनाइ छ ।

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्रि बितरण गरिरहेको छ ।

टिप्पणीहरू