समुदायले जोगाएको वनले पर्यावरण राम्रो भएको छ : भण्डारी

समुदायले जोगाएको वनले पर्यावरण राम्रो भएको छ : भण्डारी

-अमृतप्रसाद पौडेल

राज्यले संरक्षण गरेको भन्दा समुदायले रेखदेख तथा संरक्षण गरेको सामुदायिक वनहरुमा पर्यवरण राम्रो भएको सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)का केन्द्रीय सचिव ठाकुर भण्डारीले बताउनुभएको छ ।

म्याग्दीको बेनीमा आयोजित ‘जडिबुटी तथा गैरकाष्ठ वन पैदवारमा आधारित परम्परागत ज्ञान र प्रथाजनित अभ्यासको प्रवर्धनमा सामुदायिक वनको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै भण्डारीले देशका अधिकांश भूभागमा भएका सामुदायिक र राज्य नियन्त्रित वनको अवस्था हेर्दा समुदायले संरक्षण गरेको वन निकै राम्रो भएको बताउनु भएको हो ।

सचिव भण्डारीले समुदायको नेतृत्व र समुदायकै रेखदेख सबै हिसाबले उचित र उत्तम विकल्प भएको दाबी गर्नुभयो । भन्नुभयो –अहिलेको अवस्थामा संघ र प्रदेशको मातहतमा मन्त्रालय भए पनि स्थानीय तहमा वनसम्बन्धी कार्य हेर्ने निकाय नै नभएकोले त्यसतर्फ राज्यको ध्यान गएको छैन। त्यसैले समुदायले संरक्षण गरेको बनमा पर्यावरण राम्रो भएको छ ।’

उहाँले राज्यले सामुदायिक वनलाई कर तथा अन्य बन्देजहरु लगाउने गरेको गुनासो पनि गर्नुभयो । राज्यले कर र त्यस्ता कानुनी बन्देज हटाएर सु–व्यवस्थित गरी वन क्षेत्र बढाउने तर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा पनि उहाँको जोड छ ।

एक अर्को प्रसङ्गमा सचिव भण्डारीले राज्यसँग निश्चित मापदण्ड तोकेर गरिएका संरक्षण आयोजनाहरुले जनविरोधी कार्य गरेको आरोप लगाउनुभयो । ‘अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)को नाउबाट चलेको संस्थाले जनतालाई सास्ती दिने काम गरेको छ । सर्वसाधारण नागरिकले तरकारी खानका लागि न्यूरो टिप्दा तथा निगालोको टुसा टिप्दा समेत प्रहरी लगाएर गिरफ्तार गराउँदै दुख दिने गरिएको छ’, उहाँले भन्नुभयो ।

उहाँले राज्य तथा अन्यत्रबाट समेत करोडौंको बजेट ल्याएर काम गर्ने नाउँमा जनतालाई दुःख दिने र त्यस क्षेत्रका जनताले आफ्नो कामसमेत उसको निगरानी र अनुमतीमा मात्रै गर्न बाध्य पारेको आरोप लगाउनु भयो ।

म्याग्दी तथा बागलुङ जिल्लामा जडिबुटी तथा गैरकाष्ठ वन पैदवारमा आधारित परम्परागत ज्ञान र प्रथाजनित अभ्यासको प्रवद्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा योजना निर्माणको हेतुले आयोजित कार्यक्रममा दुई जिल्लाका सामुदायिक वनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू