​भित्रभित्र भसक्कै भ्याए

कृषियोग्य जमिनको खण्डीकरण रोक्ने भन्दै सरकारले कित्ताकाटमा बन्देज गरे पनि नापी कार्यालयका कर्मचारीले घुसको दर बढाएर यो काम निर्वाध गर्दै आएका छन् । यसअघि कर्मचारीले दुई हजारदेखि ५ हजारसम्म ‘टिप्स’ लिने गरेका भए पनि सरकारले कित्ताकाट रोकेपछि प्रतिआना कम्तिमा ३० हजार र बढीमा ५० हजारसम्म लिने गरिएको छ ।

अंशबन्डा वा नाताभित्रको नामसारीका नाममा अहिले नापीका कर्मचारीले कित्ताकाटबाट दैनिक दशौं लाखसम्म अतिरिक्त रकम उठाउने गरेको एक जग्गा व्यवसायीले बताए । बालाजुको ४ रोपनी जग्गामा प्लटिङ गरिरहेका उनले भने, ‘एकैदिन सबैको कित्ताकाट गर्दैनन् र केही दिनको अन्तरमा दैनिक एउटा वा बढीमा दुईवटा मात्र गर्न लगाएको हुँ ।’ उनले प्रतिआना ५० हजार भने पनि ३० हजारमा काम लगाएको बताए ।

जति कडा नियम बनायो उति घुसको दर बढाएर कर्मचारीले बढी रकम असुल गर्ने धन्दा अध्यागमन, वैदेशिक रोजगार, यातायात कार्यालयमा हुँदै आएको छ । अहिले सबभन्दा बढी रकम असुल्दै कित्ताकाटको काम हुनेमा नापी कार्यालय मनमैजु, कलंकी, टोखा, भक्तपुर, ललितपुर हुन् । नाताभित्रको भनी नापीले कित्ताकाट गरिदिने र यसकै आधारमा पुर्जा दिई नापी तथा मालपोतका कर्मचारीले जग्गा खण्डीकरण हुनबाट रोक्ने सरकारी निर्णयको उल्लंघन गरिरहेका छन् । 

टिप्पणीहरू