आयो चाडबाड,ल्यायो महंगी,कसले गर्ने गरिवको चिन्ता

आयो चाडबाड,ल्यायो महंगी,कसले गर्ने गरिवको चिन्ता

चाड पर्वहरु नजिकिँदै गर्दा खाध्यान्नमा अत्याधित मूल्यबृध्दि भइरहेको छ । जसका कारण उपभोक्ताहरु मारमा छन् । अहिले बजारमा हरेक कुराको महंगी छ ।दाल,चामल,चिनी,खानेतेलको भाउ छोइसाध्ये छैन । यसले धनीहरुलाई केहि फरक नपरे पनि निम्न र अति निम्न वर्गलाई भने सामान उपभोग गर्नै नसक्ने अवस्था आएको छ ।

यता बाढी पहिरोले उत्पादन कम भएको र लागत मूल्य बढेको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँदै आएका व्यवसायीहरुले चाड पर्वको मौका छोपेर झन मनपरी मूल्यबृध्दि गरेका छन् । आउन लागेको चाड पर्वमा खाध्यान्नमा पहिलेको वर्षभन्दा १ सय रुपैयाँसम्म भाउ बढेको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाएको छ । ‘पछिल्लो समय गेडागुडीमा २०/३० रुपैयाँ र दालमा २०/२५ रुपैयाँ मूल्यबृध्दि भएको छ ।’

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले बताउनुभयो । पवित्रमानले अहिले बिस्कुट,चकलेटदेखि लिएर हरेक सामान महंगिएकाले तेल,मैदा, आटा,चिनी,चामललगायतका खाद्य वस्तुको मूल्य पनि बढेको बताउनु भयो । यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले नेपालमा ८० प्रतिशत खानेदेखि लिएर सबै सामान बिदेशबाट आयात हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्यबृध्दिको प्रभाव परेको बताउनुभयो

। उहाँले अहिले गाडी भाडादेखि लिएर सबैमा बृध्दि भएका कारण र डलर महङ्गिएकोले पनि त्यसको असर बजारमा परेको बताउनुभयो । संघको पुरानो र अहिलेको तथ्यांक हेर्ने हो भने काँचो तोरीको तेल प्रति लिटर १ सय ६० बाट बढेर २ सय ६० रुपैयाँ पुगेको छ । २ सय ७० पर्ने भुटेको तोरीको तेल पनि बढेर ३ सय ६० पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर १ सय १५ बाट बढेर २ सय ४०,सनफ्लावर तेल प्रतिलिटर १ सय ४० बाट बढेर २ सय ५० र बोडी १ सयबाट १ सय ६० रुपैयाँ पुगेको छ ।

यसअघि १ सय रुपैयाँ रहेको मेथीको मूल्य अहिले १ सय ८० पुगेको छ । यस्तै दालमा पनि मूल्यबृध्दि भएको छ । १ सय रुपैयाँ रहेको मासको दाल १ सय ४० र मसुरको दाल १ सय ६० पुगेको छ । १ सय ८० रहेको राजमाको मूल्य २ सय पुगेको छ । यता उखु किसानहरुले उखुमा न्यूनतम मूल्य नपाइरहेको बेला चिनीमा मनपरी भाउ भएको छ । पहिले प्रत किलो ८० रहेको चिनी अहिले ९५ पुगेको छ ।

नेपाल खुद्रा व्यापार संघले राखेको तथ्यांक त यो भयो । खुद्रापसलमा जाने हो भने व्यवसायीहरुले अझ महंगोमा सामान बेचिरहेका छन् । पछिल्लो समय हरियो तरकारी र फलफूलको मूल्य पनि छोइसक्नु छैन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको १० दिनको तथ्यांक हेर्ने हो भने असोज ४ मा होलसेल मूल्य प्रतिकिलो १२ रुपैयाँ रहेको लोकल गोलभेडाको मूल्य आज असोज १४ गते ३५ रुपैयाँ पुगेको छ ।

प्रतिकिलो ४९ रहेको मुडेको रातो आलु ५९ रुपैयाँ र ४५ रहेको सुकेको प्याज ५३ रुपैयाँ पुगेको समितिले बताएको छ । घिउ सिमी लोकल ७५ रुपैयाँबाट १ सय १०, कागती १ सय ५५ बाट १ सय ८० र सुकेको लसुन प्रतिकिलो १ सय ५५ बाट १ सय ९५ रुपैयाँ पुगेको समितिको तथ्यांक छ । असोज ४ मा प्रतिकिलो १ सय ९५ रहेको फुजी स्याउ २ सय ४०, ४५ रहेको तरबुजा ५५,१ सय २५ रहेको मौसम १ सय ३५ र ७५ रहेको मेवाको मूल्य ८५ रुपैयाँ पुगेको छ ।

यो त तरकारी,फलफूल,खाध्यान्न तथा दैनिक उपभोग्य वस्तुको कुरा भयो । सवारी साधनको मूल्य हेर्ने हो भने यातायात व्यवस्था बिभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा दर बृध्दि गरेको छ ।

यात्रुवाहक सवारीमा भाडा दर बृद्धिसंगै २०७५ देखि कायम रहेकोे काठमाण्डौदेखि पोखराको ४ सय २७ भाडा दर अहिले ५ सय ३७ पुगेको छ । १ हजार १ सय ७२ रहेको काठमाडौंदेखि भद्रपुरको भाडा १ हजार ४ सय ७०, ५ सय ६१ रहेको काठमाडौंदेखि भैरहवाको ७ सय ४,५ सय १९ रहेको काठमाडौंदेखि बुटवलको भाडा ६ सय ५१ पुगेको छ ।

तराई क्षेत्र तथा पहाडी क्षेत्रमा पर्ने वीरगंजदेखि काठमाण्डौ जाने सार्वजनिक मालवाहक ट्रकको २०७५ देखि कायम रहेकोे २० हजार ७ सय ७३ अहिले २५ हजार ३ सय ४ पुगेको छ । १८ हजार ८ सय ३ रहेको वीरगंजदेखि पोखराको २३ हजार २६, २१ हजार २ सय १३ रहेको भैरहवादेखि काठमाडौको २५ हजार ८ सय ५ पुगेको छ ।

बिभागले सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसंग गरिएको परामर्श र मुख्य सूचकहरुमा देखिएको मूल्यबृध्दिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा समायोजन गरिनु पर्ने भएकाले नयाँ भाडादर समायोजन गरिएको बताएको छ ।

इन्धनको मूल्यबृध्दिका कारण सार्वजनिक यातायातको भाउ बढेको र सोहि कारण खाध्यान्नको मुल्यबृध्दि गर्नु परेको व्यवसायीहरुले बताउँदै आएका छन् । सबैतिर मनोमानी तरिकाले भाउ बढ्दा सरकार भने अनुगमनतर्फ गम्भीर भएको देखिन्न ।

टिप्पणीहरू