सबैलाई चाहियो पद, कति थान खाली छ ?

सबैलाई चाहियो पद, कति थान खाली छ ?

-गोविन्द भट्टराई

मानिसको होस् वा संस्थाको, जिन्दगी कहाँ टुंगिन्छ कसलाई थाहा छ र तैपनि घमण्डको दास हुन छाडेन मानिस । कोरोनाअघि एचआईभी एड्सले केही वर्ष त्रास बढायो, पछिल्लो समय विश्वसमाजमा कोरोनाले राज गरेको छ । नेपालको सन्दर्भमा कांग्रेसजस्तो होइन कम्युनिष्टले दुई तिहाइको सरकार बनाए समस्या छु मन्तर हुन्छ अनि प्रगतिशील राजमा नागरिक गुनासो शून्य हुन्छ भनेर भाषण गरेका कमरेड नै गाँड कोराकोरमा उत्रिएपछि बबुरा मतदाता बिचल्लीमा परेका छन् । कसको विश्वास गर्ने ? रनभुल्ल परेको छ नेपाली समाज ।

किशोर श्रेष्ठसँग २३ वर्ष पुरानो रिसइवीको हिसाब फस्र्योट गर्न प्रेस काउन्सिलबाट गलहत्याउने तत्कालीन कम्युनिष्ट प्रधानमन्त्रीको प्रतिशोध अदालतको हस्तक्षेपका कारण निस्तेज भयो । कुनै बेला ओलीका लागि पत्रिकाको इमेज दाउमा राखेर ओलीवादमा उत्रिएका सिनियर पत्रकार शम्भु श्रेष्ठ र गोपाल थपलिया उनको व्यवहारकै कारण धारेहात लगाउने अवस्थामा पुगे ।

माधव, झलनाथहरू अध्यक्षसँग बस्न सकिएन भनेर बाहिरिए, उनीहरूसँगै ओलीको क्रियाकलापबाट असन्तुष्ट जति मूलधारबाट बाहिरिनुपर्छ भन्ने आशयले यतिबेला धेरैलाई एन्टी ओली क्याम्पबाट दबाब बढेको छ । भेटेर होस् वा फोनबाट ल तपाईं समाजवादी प्रेस, नेपालमा बस्नुप¥यो वा पार्टीमा बस्नुप¥यो भन्ने आग्रह गरिएको छ । पंक्तिकारसम्म पनि आग्रह आयो, जुन अन्यथा होइन ।

ओलीको खराब प्रवृत्ति यी यी हुन् भनेर भन्ने अनि पार्टी वा भातृसंगठन गठन, सञ्चालनमा ओली प्रवृत्ति अवलम्बन गर्ने, गन्हाएका मान्छे अँगाल्ने भएपछि केको शुद्धिकरणको कुरा ? भन्ने प्रश्न पनि उठेको छ । एकै पार्टीका सारथि भनिएकाहरूसमेत आपसमा धारेहात लगाएर उत्रिनुपर्ने चुरो कारण मतदातास्तरमा अझै प्रष्ट हुन भने सकेको देखिँदैन । चित्त नबुझेका कुरा घरभित्रै बहस गरेर होस् वा हात हालेरै छिनोफानो गर्दा बेस हुन्छ बैरी हँसाउने गरी कित्ताकाटमा उत्रिनुभन्दा भन्ने हाम्रो समाज हो ।

समाजमै कतिपयले ओलीले राम्रो काम गर्न खोजेका थिए माधव–झलनाथले सौताको रिसले पोइको काख फोहोर पारेको उखान चरितार्थ गरे भन्नेहरू पनि छन् । कतिपय ओलीको दम्भ अनि संगठनभन्दा आफै हावी हुने बानीको कारणलाई नै माधव–झलनाथ बाहिरिनुको कारण ठान्दछन् । सामान्य मतदाता भने २०१५ सालमा दुई तिहाइले कांग्रेस मात्तियो, अहिले नेकपा पात्तियो भनेर दुखेसो पोख्दै छन् ।

नेताहरूले लत्तो छाडेपछि कार्यकर्ताहरू बरालिने नेपाली राजनीतिको परम्परागत प्रवृत्ति हो । नेपाली कांग्रेसमा गगन थापाजस्ता नेतृत्वलाई प्रश्न गर्नसक्ने युवा छन् भनिन्थ्यो अनि नेकपामा घनश्याम भुसाल, योगेश भट्टराईलगायत छन् भनेर गनिन्थ्यो तर संकट परेका बेला उनीहरूले पनि लत्तो छाडेको अवस्था अनुभूत गरेका छन् नेपालीले ।

यसपटक माधव–झलनाथ क्याम्पमै जान्छन् भनेर अनुमान गरिएका युवाले अन्त्यमा आफैहरूले बेकम्मा ठानेका ओलीको साथ नछाडेपछि थुप्रै शुभचिन्तकहरू रनभुल्लमा परेकै हुन् । किन खराब ओलीसँगै बस्नुप¥यो भन्दा मूलधार नछाड्ने अनि …बुँदे कार्यान्वयन गर्ने, अन्तर्संघर्ष गरेर पार्टी एकता कायम राख्ने जस्ता जवाफ सतहमा सुनिए । नतिजा आगामी निर्वाचनले प्रष्ट पार्ने नै छ ।

नागरिक सेवाभन्दा लाभहानिको हिसाबकिताबबाट राजनीति गर्ने नेता, पत्रकार, अनि शुभचिन्तकहरूकै कारण नेपालको राजनीति भाँडिएको छ । सबैलाई पद चाहिएको छ । निष्ठा र त्यागको राजनीति अस्तायो, यस्तै छ समाज । नेता अनि उनका मान्छेहरूले स्वीकार्दा हुन्छ– ‘सुशासनका नाममा निष्ठा र त्यागको दुहाइ दिएर राजनीति गर्ने हामी नेता उस्तै रहेनौँ !’

[email protected]

टिप्पणीहरू