तीन श्रीमती भित्र्याउने वडाध्यक्षको ‘बा’ पार्टीमा तरक्की

तीन श्रीमती भित्र्याउने वडाध्यक्षको ‘बा’ पार्टीमा तरक्की

दुई वटी श्रीमती हुँदा फेरि अर्को श्रीमती थप्ने सल्यान बनगाड कुपिण्डे नगरपालिकाका वडाध्यक्ष इन्द्र कुमाइ ‘बा’ पार्टी अर्थात् नेकपा एमाले प्रवेश गरेका छन्। उनले गत वर्ष (०७७)को मंसिर १ गते तेस्री श्रीमतीको रूपमा अर्काको श्रीमती भगाएका थिए।

अकोकी श्रीमती भगाएर तेस्री बनाएपछि उनले त्यो बेला भनेका थिए, ‘हामी लामो समयदेखि प्रेममा थियौं, गाउँमा सबैले थाहा पाए अनि बिहे गर्न बाध्य भएँ ।’ उनले आफूले गल्ती गरेको र कानुनी सजायँ भोग्नसमेत तयार भएको बताएका थिए ।

०७७ मंसिर १९ गते प्रहरीले समातेर बहुविवाह कसुरमा मुद्दा चलायो । जिल्ला अदालत सल्यानले ०७७ फागुनमा वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती दुई जनालाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनायो । त्यसपछि उनी जिल्ला कारागार सल्यान चलान भए ।

तर, असोज ३ गते संविधान दिवसको अवसर पारेर उनलाई राष्ट्रपतिद्वारा आममाफी दिइयो र जेलमुक्त भए । तिनै वडाध्यक्षलाई अहिले नेकपा एमाले सल्यानले आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

उनलाई जिल्ला अध्यक्ष गोविन्दकुमार पुनले एक कार्यक्रमबीच टिका लगाएका हुन् । कुमाई स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अगुवा कार्यकर्ता भेलामा उनीसहित दुई दर्जनभन्दा बढी कार्यकर्ताले पार्टी प्रवेश गरेको नेकपा एमाले नगर कमिटी सदस्य दलबहादुर बस्नेतले जानकारी दिए ।

सल्यानका एक कानुन व्यवसायी भन्छन्, ‘यसरी बहुविवाह अपराधमा जेल परेकालाई आममाफी दिन हुँदैनथ्यो । आममाफीका लागि पहिला सिफारिस गर्ने निकायले ध्यान दिनुपथ्र्याे । यदि, उसले सिफारिस गरे पनि प्रमुख जिल्ला अधिकारीले यस्ता अपराध गर्नेलाई सिफारिस गर्न हुँदैनथ्यो।’

राष्ट्रपति कार्यालयमा पुगेका यस्ता फाइल हजारौं हुने गरेको र राष्ट्रपतिले सबै हेर्न नभ्याउने गरेको उनी बताउँछन् । जिल्लाबाटै यस्ता व्यक्तिलाई आममाफीको लागि सिफारिस गर्न नहुने उनको भनाइ छ । वडाध्यक्ष कुमाइ छुट्ने समय अब थोरै मात्र थियो तर संविधान दिवसको खिलाप हुनेगरी यसरी विवादित काम गर्न नहुने ती अधिवक्ता बताउँछन् ।

टिप्पणीहरू