सचिवको सरुवामा लड्डु खाए मन्त्रीले

सचिवको सरुवामा लड्डु खाए मन्त्रीले

एक जना सचिवको सरुवा भएपछि सम्बन्धित मन्त्रीले निजी निवासमा लड्डु बाँडेर खाएको खबर छ । प्रदेश २ स्थित मन्त्रालयका कर्मचारीले जनआस्थालाई दिएको जानकारीअनुसार उद्योग तथा वनमन्त्री रामनरेश रायले तत्कालीन सचिव ई. रामचन्द्र कँडेल त्यहाँबाट सरुवा हुँदा खुशीले लड्डु खाएका हुन् ।

दुई साताअघि ८५ सहसचिवको सरुवा हुँदा सो प्रदेशबाट वन मन्त्रालयमा तानिएका कँडेललाई वन्यजन्तु विभागको महानिर्देशक बनाएर पठाइएको छ । वनका क्याडर कँडेलले कडाइ गरेसँगै मन्त्रीको रजगज रोकिएको थियो । हाल संघीय वन मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल २ नम्बर प्रदेशमा वन सचिव हुँदा मन्त्री रायलाई नियम कानुन पालना गर्न बाध्य बनाएका थिए ।

मन्त्री राय एण्ड सन कम्पनीले गर्न चाहेका कतिपय अनियमितता रोक्न प्रेमनारायणले अख्तियारको समेत साथ लिई धेरै सुधारात्मक कार्य गरेकोमा त्यसैलाई रामचन्द्रले निरन्तरता दिएका हुन् । यता, रामचन्द्रको सरुवापछि सो प्रदेशको सचिव पद रिक्त छ ।

अरु मन्त्री कर्मचारी छिटो पठाइदेऊ भनेर सामान्य सचिवलाई गुहार्छन् तर वनमन्त्री रायले भने सचिव तत्काल नपठाइदिनू भन्दै सामान्य प्रशासनका सचिव एकनारायण अर्यालदेखि शेरबहादुर देउवाका स्वकीयसम्मलाई गुहारेका छन् ।

सचिव अर्यालले अहिले वनमन्त्रीसमेत प्रधानमन्त्री नै रहेका कारण बालुवाटारमै भन्नु भन्दै फोन राखिदिएको बताइन्छ । मन्त्री रायले चाहिँ सो मन्त्रालयको उपसचिवलाई नै निमित्त दिएर काम चलाउन खोजेका छन् ।

उता, रौतहट घर भएका र सुदूरपश्चिमप्रदेशबाट हालै फर्किएका सहसचिव यज्ञनाथ दाहाल वा सोही जिल्लाको सहसचिव बिन्दु मिश्रमध्येबाट एक जनालाई पठाउन संघीय वन मन्त्रालयले सामान्य प्रशासनलाई मौखिक सिफारिस गर्ने भएको छ । यस्तै, माधव नेपालको सिफारिसमा रौतहटकी सिन्धु ढुंगाना बाग्मती प्रदेशमै बस्ने चर्चा वनतिर छ ।

टिप्पणीहरू