पुर्खा,प्रकृति र सम्पदाको सम्मानका खातिर मुध्दा दायर

पुर्खा,प्रकृति र सम्पदाको सम्मानका खातिर मुध्दा दायर

काँक्रेबिहार संरक्षित वन क्षेत्रको जग्गा मिचिएको विरुध्द उच्च अदालत सुर्खेतमा मुध्दा परेको छ । ‘कम्पाउण्ड वाल’ साँध-सीमामै लगाउनुपर्ने मागसहित अधिवक्ता शेरबहादुर खत्रीले आज रिट हालेका हुन् ।

सो क्षेत्रको जग्गा मासिने गरी सीमाभन्दा भित्र पर्खाल निर्माण गरेको समाचार प्रकाशन भएपछि अधिवक्ता खत्रीले रिट दायर गरेका हुन् । कम्पाउण्ड वाल निर्माण गर्दा सीमा नमिच्न रिट निवेदकले आदेश माग गरेका छन् । काँक्रेविहार संरक्षित वन क्षेत्रको बाहिरी साँध-सीमा नापनक्सा भई सीमा क्षेत्रमा पिलरसमेत गाडिसकेको हुँदा सोही ठाउँबाट कम्पाउण्ड वाल लगाई निर्माण कार्य गर्न/गराउन रिट निवेदनमा आदेश मागिएको छ ।

साविकको साँध-सीमाभन्दा झण्डै ५–७ मिटर जग्गा बाहिर जमिन छोडिएको दाबी गर्दै पर्खाल निर्माण कार्य नगर्न/नगराउन अन्तरिम आदेशको माग गरिएको निवेदक खत्रीले बताए । उनका अनुसार रिटमा कर्णाली प्रदेश सरकार,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय,प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय सुर्खेत, भौतिक पूर्वाधार विकास निर्देशनालय सुर्खेतलाई विपक्षी बनाइएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेत,वीरेन्द्रनगर नगरपालिका कार्यालयजसुर्खेत उद्योग वाणिज्य संघ,र महादेव खिम्ती हिराचन–केएसके ज्वइन्ट भेन्चर सुर्खेतलाई पनि मुद्धामा विपक्षी बनाइएको छ । अधिवक्ता खत्रीका अनुसार भोलिका लागि मुद्धाको पेशी तोकिएको छ ।

अधिवक्ता खत्री सुर्खेतमा रहेर पछिल्लो समय सार्वजनिक चासोका सवालमा रिट निवेदन दायर गर्दै आएका कानुनकर्मी हुन् । यसअघि उनले छाडा पशुचौपाया व्यवस्थापन,गुरुयोजना विपरित निर्माण हुन थालेको खुल्लामञ्च पार्क,वीरेन्द्रनगरमा गुड्ने अटो व्यवस्थापन,मालपोत कार्यालय सुर्खेतमा सेवाग्राहीले पाएको सास्ती लगायतका विषयमा मुद्धा हालेका थिए ।

टिप्पणीहरू