गभर्नर आज कार्यालयमा ‘कमब्याक’,भोलि बिहान बोर्डमा ‘प्याक’

गभर्नर आज कार्यालयमा ‘कमब्याक’,भोलि बिहान बोर्डमा ‘प्याक’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमण निको भएकाले आजदेखि कार्यालयमा हाजिर भएका छन् । असोज ५ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी बिरामी बिदामा बसेको बैंकले यसअघि नै जनाएको थियो ।

आफू बिरामी बिदामा बसेपछि वरिष्ठ डेपुटी निलम ढुंगाना तिम्सिनालाई कायम मुकायमको जिम्मेवारी दिन अर्थ मन्त्रालयमा निवेदन पठाएका कारण ढुंगानाले भोलिपल्टदेखि नै उक्त जिम्मेवारी पाएकी हुन् ।

तर, गभर्नरको अनुपस्थितिमा सबै काम गर्न सकिने अवस्था हुँदाहुँदै पनि कायममुकायम डेपुटीले १५ दिनसम्म महत्वपूर्ण निर्णयमा कलम नचोपेपछि भोलि बिहान सञ्चालक समितिको बैठक बोलाइएको उच्च स्रोतले बताएको छ ।

‘भर्चुअल बैठकको अध्यक्षता गभर्नर अधिकारीले गर्ने तयारी छ,’ स्रोतले भन्यो,‘सम्भवतः पछिल्लो मौद्रिक नीति र सोबमोजिमको निर्देशनका कारण पुँजी बजारमा परेको असरलाई न्यूनीकरण गर्नेबारे एजेण्डा आउने छ । उक्त एजेण्डाबारे सञ्चालकहरुलाई पूर्व जानकारी गराइएको छैन ।’

राष्ट्र बैंकले सेयर धितो कर्जामा ४ करोड र १२ करोड रुपैयाँको सीमा लगाएपछि बजारका सीमित सेयर खेलाडीहरु आगो भएका छन् । सरकार पनि सोही कारण सेयर बजार सुस्ताएपछि राजश्वमा कमि आएकाले गभर्नर र केन्द्रीय बैंकसँग बेखुस देखिएको हो ।

त्यहि बेखुस देखिएको विषयलाई भोलि बिहानको बैठकमा सच्चाउने प्रयास हुने बुझिएको छ । यसअघि बोर्ड बैठकमा गरिएको ब्रिफिङभन्दा फरक ढंगले नीति र निर्देशन जारी गरिएको नाम नबताउने शर्तमा एक जना सञ्चालकले जनआस्थालाई खुसुक्क बताए । उनी भन्छन्, ‘४ करोड र १२ करोडको सीमालाई नफुकाउने हो भने सबैलाई अप्ठेरो पर्न सक्छ । राष्ट्र बैंक नेतृत्वलाई सबैभन्दा बढी घाटा हुनेमा शंका छैन ।’

तर,कायममुकायम गभर्नरले पासपोर्टवापतको डलर सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन गर्न बैंकहरुलाई दिएको टेलिफोन निर्देशन एकाएक विवादमा आएको छ । लिखित निर्देशन दिएर विवादमा पर्न नचाहेकी डेपुटी अन्ततः मौखिक निर्देशनबाटै उपल्लो तहको पहिलो जिम्मेवारी सम्हाल्ने क्रममा चर्को विवादमा तानिएकी हुन् ।

यता गभर्नर अधिकारी कार्यालयमा हाजिर भएपछि तीन वटै कर्मचारी युनियनले दशैं अगावै आफ्ना मागहरु पूरा गर्नुपर्ने आवाज उठाएका छन् । साउनमा गरिएको सहमति अक्षरशः कार्यान्वयन गर्न उनीहरुले राजनीतिक नेतृत्वसम्म पहुँच पुर्याएका छन् । दुई साताअघि उनीहरुमध्ये नेपाली काँग्रेस निकट कर्मचारी युनियनका केही कर्मचारीले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई महाराजगञ्ज निवासमा भेटेर आफ्ना कुरा सुनाएका थिए ।

महतले पनि केटाहरुले ढिपी नछाडेपछि अर्थसचिव मधु मरासिनीलाई फोन गरेर ‘सचिवज्यू,यसो मिलेसम्म आँखा चिम्लिदिनुहोला है,’ भन्नुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू