​अर्काथरिको पाँचवर्षे अफर

दुई ठूला कम्युनिष्ट पार्टीबीच एकताको अन्तिम तयारी चलिरहेको बेला प्रचण्डलाई त्यो प्रक्रियाबाट तान्न काँग्रेसका दुई बिहानै भाइ खुमलटार पुगे । गतहप्ता कृष्ण सिटौला र अमरेशकुमार सिंह प्रचण्डको नयाँ डेरामा जाँदा जति उत्साहित देखिन्थे, फर्किंदा भने अनुहारभरि निराशाका बादल तैरिए । 

सिटौलाले भने, ‘पाँच वर्ष ढुक्कै यता आएर चलाउनुस् न त । हाम्रो सभापतिले पनि भनिसक्नुभएको रहेछ ।’ तर, प्रचण्डले ‘कसरी गठबन्धन तोड्ने त ?’ उल्टै सोधे । ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश अक्क न बक्क भए । प्रचण्डको भनाइ थियो, भर्खर वाम गठबन्धनबाट चुनावको परिणाम आएको छ । साथीहरु वाम एकताप्रति अत्यन्तै उत्साहित हुनुभएको अवस्था हो । हैन, अहिले एकता नगरौँ भन्दा पार्टीबाटै विद्रोह होलाजस्तो छ । हामी निकै अघि बढिसक्यौँ ।’ प्रचण्डले सोधे, ‘मैले तपाईंहरुको प्रस्ताव मानेँ भने निरन्तर सत्ता दिइरहनुहुन्छ भन्ने केही ग्यारेण्टी छ ? छ भने भन्नुस् †’ त्यसदिन सिटौला र अमरेशभन्दा अगाडि नै राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो गएर बसिसकेका थिए । 
यसैबीच, कस्तो आपत भने, कमाण्डर छ, कमाण्डको पत्तो छैन । नेपाल प्रहरीले सातै प्रदेशमा आफ्नो प्रादेशिक कार्यालय, प्रादेशिक कमाण्डर तोक्यो । तोकिएकाहरु पोष्टिङमा पुगिसके । तर, न कार्यालय, न मेस, न व्यारेक– केही छैन । 

२ नं. प्रदेशमा प्रादेशिक प्रहरी प्रमुखको रुपमा एआइजी विजयलाल कायस्थ बडीगार्ड र ड्राइभर मात्र लिएर बसिरहेका छन् । नेपाली सेनाको पृतना हेडक्वार्टरकै संरचनामा आधारित प्रहरीको प्रादेशिक कार्यालयमा भात पकाउने नभएर अञ्चलको एसएसपीका भान्सेबाट काम चलाउनुपरेको छ । उनलाई विहान उठ्नेबित्तिकै सलामी गारद दिने टोली पनि छैन । २ नंं. मात्र हैन, ५ नं. प्रदेशमा पनि यही समस्या हो । कमाण्डर पुगिसके, कमाण्ड खडा हुन सकेको छैन । त्यही भएर सोमबार सिंहदरबारमा प्रहरी मुख्यालयका अधिकृतहरुको लर्को देखियो  । अर्थ मन्त्रालयमा २२ हजार प्रहरी दरबन्दी स्वीकृतिको माग राख्दै उनीहरु त्यहाँ पुगेका हुन् ।

प्रहरीको सरोकारवाला मन्त्रालय गृहले स्वीकृति दिएर मन्त्रिपरिषद् सचिवालयमा प्रस्ताव पठाइएको छ । तर, अर्थको स्वीकृतिबिना मन्त्रिपरिषद्ले कुनै पनि निकायको दरबन्दी स्वीकृत गर्दैन । प्रहरीलाई अहिले केही एसएसपीले कमाण्ड चलाएको युनिटमा खटाउनुपर्ने कारण ९ डिआइजीको थप दरबन्दी चाहिएको छ । सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको अवस्था पनि यही हो । 

टिप्पणीहरू