राजदूतको पालो कुरेका सहसचिवहरु एउटै कोठामा दुई जना

राजदूतको पालो कुरेका सहसचिवहरु एउटै कोठामा दुई जना

सरकारले ११ वटा मुलुकमा रहेका कूटनीतिक नियोगबाट राजदूत फिर्ता बोलाउने भएपछि अब विदेशस्थित राजदूत रिक्त भएका नियोगको संख्या २३ पुगेको छ । १० जना मन्त्रालयका सहसचिवहरु (करियर कूटनीतिज्ञ) भने अझै पनि राजदूतको हैसियतमा त्यहिँ छन् ।

अब नियुक्त गरिने झण्डै दुई दर्जन राजदूतमध्ये करियर डिप्लोम्याटबाट आधा दर्जन पाइपलाइनमा देखिन्छन् । त्यसरी कुरेर बसेका सहसचिवहरुमध्ये निर्मल काफ्ले सबैभन्दा वरिष्ठ हुन् । उनी यसअघि ओली सरकारबाट दुई पटक सिफारिशमा परेर पनि अन्तिम अवस्थामा समस्या आएको हो ।

राजदूत नियुक्तिको निम्ति सरकारले नयाँ मापदण्ड बनाउने भनेको छ । करियर कूटनीतिज्ञको निम्ति वरिष्ठलाई आधार मान्ने भनिए पनि त्यो स्पष्ट छैन । मन्त्रालयमा बसेको हिसाबले वरिष्ठ मान्ने कि अन्य कुनै भन्ने प्रश्न पनि उठाइएको छ । एकथरिले नियुक्ति बुझेको मितिलाई वरिष्ठ मान्नुपर्ने नयाँ तर्क निकालेको बुझिएको छ ।मन्त्रालयमा सहसचिवको कुर्सीमा बसेर राजदूतको पालो कुरेकाहरुमध्ये काफ्ले,हरिश्चन्द्र घिमिरे,सुशील लम्साल,तेजबहादुर क्षेत्री,तीर्थ वाग्ले,भरत रेग्मी मुख्य हुन् । सरकारले कम्तिमा ६ जना र बढीमा ७ जना सहसचिवलाई नियुक्त गर्नुपर्ने आवाज परराष्ट्र मन्त्रालयमा उठेको छ ।

मन्त्रालयमा सहसचिवहरुलाई जिम्मेवारीसहितको काम नभएकाले पनि तत्काल राजदूत बनाएर कार्यस्थलको अभावलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्थासमेत देखिएको छ । पछिल्लो समयमा दुई जना सहसचिवलाई एउटै कोठामा राखिएको छ । पर्याप्त कोठा नभएकाले त्यसो गरिएको मन्त्रालय स्रोतले बताएको छ । त्यसरी राखिएका सहसचिवहरुमा तेजबहादुर र सुधिर भट्टराई हुन् ।

टिप्पणीहरू