एक्ला महामहिमको यतै अलमल

सक्नेहरु भटाभट नियुक्ति खाएर ठाउँ–ठाउँ पुगिसके । तर, एउटा अभागी खप्पर, ‘जता गयो उतै ठक्कर’ भनेजस्तो यता न उताको भएको छ ।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति घोषणासँगै आचारसंहिता लागु भयो । तर, गर्नुपर्ने नियुक्ति, सरुवा, बढुवा चलि नै रहे ।

चुनावबाट सत्तारुढ गठबन्धन हारिसकेर पनि सरकारमै छ, अझै नियुक्ति भइरहेका छन् । तर, ‘अभागी खप्परको’ कुरै अप्ठेरो । यी हुन्, नेपाली सेनाका पूर्वजर्नेल भरत रायमाझी, जो स्पेनस्थित नेपाली राजदूतको रुपमा कमल थापाको पार्टी राप्रपाको तर्फबाट सिफारिस गरिएका थिए । श्रीमतीको पासपोर्ट बनाएको र भिसा हानेकै असोजअगाडि । यतिबेलासम्म पार्टीले चुनाव हारिसक्यो । सरकार पनि आजभोलिको भइसक्यो । फेरि पुग्नुपर्ने ठाउँमा एकजना पनि कर्मचारी पोष्टिङ भएका छैनन् । राप्रपाको कोटामा परेर राजदूत नियुक्त भएकी प्रधानमन्त्रीकी सासू प्रतिभा राणा सबभन्दा बढी तलब पाइने देश जापानमा वैशाखमै पदस्थापित भइसकिन् ।

इजरायलमा निरञ्जन थापा पुगिसके । स्पेनमा तोकिएका रायमाझीचाहिँ रमाना नपाउँदा यतै लन्ठिएर बसेका छन् । त्यहाँ नयाँ दूतावास स्थापना गर्ने सरकारको योजना हो । कर्मचारी तोकिएका छैनन् । इजरायलबाट दुई जना कर्मचारी गएर प्रारम्भिक काम गर्दै गर्ने निर्देशन थियो । यसबीच यता निर्वाचन आचारसंहिता लाग्यो, उता स्पेनबाट क्याटालोनिया प्रान्तले अलग हुने घोषणा गरेपछि त्यहाँ आन्तरिक द्वन्द्व चुलियो । कहिले दरबन्दी नहुने, कहिले बजेट नछुट्टिने बहानामा यी जर्नेल यता न उताको भएका हुन् । सम्भवतः उनी अब यतै अड्किने छन् । 
यसबीच, स्वीट्जरल्याण्डको जेनेभास्थित मानवअधिकार परिषद्मा नेपालले जितेर काम थालेको जनवरी १ देखि नै हो । काम शुरु भइसक्यो, कर्मचारीको पदास्थापन नहुँदा समस्या छ । ज्ञानचन्द्र आचार्य संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधिको रुपमा रहँदा नेपाल अल्पविकसित मुलुकहरुको संगठनमा चुनिएको नाताले न्युयोर्कमा उपसचिव र सुब्बाको दरबन्दी थप भएको थियो ।

त्यसैगरी, नेपालले मानवअधिकार परिषद्मा जितेलगत्तै जेनेभामा पनि सहसचिव र उपसचिवको दरबन्दी कायम भयो । तर, कर्मचारी खटाइएका छैनन् । नेपालको परराष्ट्रसेवाबाट अवकास पाएर जेनेभामा राजदूत तोकिएका दीपक धितालले अबको १० महिनापछि अवकास पाउँदैछन् । राजदूत नहुँदा कार्यभार चलाउने हिसाबले सिनियर सहसचिव जानुपर्ने हुन्छ । त्यसैले अहिले सहसचिवहरु मणि भट्टराई, भृगु ढुंगाना, तीर्थ वाग्लेमध्ये एकजना जाने दौडधुप छ । उपसचिवको दरबन्दीमा खड्ग दाहाल, रामसिंह थापा र रामप्रसाद सुवेदीमध्ये एकको सम्भावना छ । यो अस्थायी दरबन्दी हो । त्यहाँ २०१८ देखि ०२० सम्म उनीहरु रहन पाउँछन् । 

यसैबीच, रक्सौलमा अर्को लफडा छ, क्लिंकरको । नेपालमा सञ्चालित हिमाल, हेटौँडाजस्ता सिमेण्ट कारखानाले स्वदेशी चुनढुंगा नै प्रयोग गर्दै आएका छन् । तर, पछि सञ्चालनमा आएका र भारतआश्रित १३–१४ वटा फ्याक्ट्रीले उताबाट क्लिंकर आयात गर्ने र नेपालमा प्याकेजिङमात्र गर्ने गर्दैआएका थिए । अब समस्या कस्तो प¥यो भने, स्थानीय जनता जुरुक्कै जागेर क्लिंकर आउनमा रोक लगाइदिए । यो समस्या समाधान गर्नका लागि भारतीय विदेश मन्त्रालयस्थित नर्थ डेस्कका सुधाकर दलेला आए । तर, कसैगरी पनि पार लागेन । पहिला जनतालाई गुण्डा लगाएर तह लगाइन्थ्यो । तर, अब क्लिंकरले फाल्ने धुलोका कारण समस्या आउने भएपछि जनदबाबका कारण त्यसमा रोक लागेको हो । रक्सौलको अवरोधपछि यता सुख्खा बन्दरगाहमा झार्ने कोसिस भयो, तर भन्सार तिरिने सामानका लागि बनाइएको ड्राइ पोर्टमा बोराका बोरा क्लिंकर झार्ने योजना सफल हुन पाएको छैन । 

टिप्पणीहरू