​जङ्गी अड्डालाई थप जिम्मा

देशमा चाहिनेजति क्षमतायुक्त विमानस्थल अभावको कारण विशेषतः अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएको त दिनदिनै देखिन्छ । शायद, यही स्थितिलाई दृष्टिगत गरेर हुनुपर्छ अहिले निजगढ–काठमाडौं फास्टट्रयाक निर्माणको काममा जुटिसकेको नेपाली सेनालाई भित्रभित्रै त्यतैतिर निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक काममा पनि लगाइएको छ । 

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा तारबार घेर्ने, चारैतिर सडक बनाउने, रुख काट्नेजस्ता जिम्मा हुन् गुपचुपमा सेनाले पाएको । सरकारले योजना बनाएको वर्षौं बितिसकेपछि त्यहाँका वरिपरि ट्याक्सीवे निर्माणको लक्ष्यसहित यस्तो गरिएको स्रोतले जनाएको छ । चारसय वटासम्म बोइङ र एयरबस अट्ने सो ठाउँ बारा जिल्लाको सिमरा र कोल्हवीभित्र पर्छ, जहाँ घना जंगलभित्रको आठ वर्ग किलोमिटर क्षेत्रफल विमानस्थलका लागि छुट्टयाइएको छ । जहाजको रनवे पनि दुईवटा बन्ने योजना छ । अहिलेसम्म नेपालको सबभन्दा ठूलो विमानस्थलका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्र, त्यो पनि जम्मा तीन किलोमीटर लामो रनवे छ ।

निजगढमा चाहिँ पाँच किलोमीटरका दुई रनवे निर्माण गर्न लागिएको हो । ती रनवेमा ८ सय जनासम्म यात्रु बोक्नसक्ने एअरबस ३८० जस्ता जहाज सहजै अवतरण हुनसक्छन् । विमानस्थलसँगै निर्माणाधीन हुलाकी राजमार्ग तामागढीबाट भारतीय बजार घोडासनको दूरी जम्मा ४० किलोमीटर हो भने फास्ट ट्रयाकबाट काठमाडौंको गन्तव्य जम्मा एक घण्टाको हुन आउँछ । त्यो विमानस्थल तयार भएपछि नेपालबाट सोझै अमेरिका, जापान र युरोपसम्म उडान भर्न सकिन्छ । अहिले विमानस्थल संकुचित हुनाले लामो दूरीको यात्रामा निस्कने यात्रु दिल्ली, दुबई, मलेसिया, कतार, बैंककका ट्रान्जिट झेल्न बाध्य छन् । यदि यो विमानस्थल शुरु हुने हो भने बेइजिङ र अष्ट्रेलियाको दूरी ४५ मीनेटका दरले घट्छ । विमानस्थल तयार पार्न १० हजार रुख काट्नुपर्ने काम बाँकी नै छ ।

एउटा रुख काट्दा ५० वटा रोप्नुपर्ने बनको प्रावधान छ । त्यहाँको टाँगिया बस्तीमा पहिला १३ सय ५६ घर धुरी सुकुम्बासी बस्ती थियो, अहिले १५ सय पुगिसकेको छ । उनीहरु मुआब्जाको आशले त्यहाँ बसेका हुन् । टाँगिया साविकको डुमरवाना गाविसमा पथ्र्यो, अहिले जितपुर–सिमरा उपमहानगरपालिकामा गाभिएको छ । जंगलको भाग भने साविकको सपही गाविस र अहिले कोल्हवी नगरपालिकाभित्र पर्छ । नाम निजगढ भनिए पनि विमानस्थल र फास्ट ट्रयाक बन्ने ठाउँलाई निजगढ नगरपालिकाले छुँदैन । त्यहाँ बसेका सुकुम्बासीमध्ये ०३३–३४ सालतिर बन हेरालुका रुपमा उनीहरुलाई केही पैसा दिएर राखिएको थियो । पछि सुकुम्बासीका नाममा अरु बासिन्दा पनि थपिएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रोजेक्ट म्यानेजरका रुपमा प्रदीप अधिकारीलाई खटाएको छ । 

टिप्पणीहरू