सरकारी काम छाडेर को-को गोदावरी भेलामा प्रकट ?

सरकारी काम छाडेर को-को गोदावरी भेलामा प्रकट ?

निष्पक्ष भूमिकामा रहनुपर्ने राष्ट्रसेवक कर्मचारीहरु आफ्नो आस्था पोख्न एमालेको बिधान महाअधिवेशनमा गोदावरी पुगेको भेटिएको छ ।

पाँचथर,झापा,सिन्धुलीदेखिका कर्मचारी स्वयंले केपी शर्मा ओलीको डमीसामु खिचाएको तस्वीर सार्वजनिक गरेपछि निजामती सेवा ऐनप्रति अरुको ध्यान खिचिएको हो ।

निजामती सेवा ऐन २०४९ दफा १२ विपरित पाँचथरका सिडिओ पुण्य ढकालदेखि बिर्तामोड नगरपालिकामा आठौं तहका कर्मचारी देवराज कार्की,शिक्षा विभागकी जानुका गुरागाई, बूढानिलकण्ठ नगरपालिकामा कार्यरत अनमी भवानी दाहाल,टेकु अस्पतालका लेखापाल लेखनाथ कोइरालादेखि सिन्धुली मालपोत कार्यालयका सुब्बा पुरुषोत्तम दाहाल,सिभिल अस्पतालकी नर्सिङ इञ्चार्ज कल्पना श्रेष्ठ,अर्थ मन्त्रालयमा कार्यरत निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटालगायतले यसरी तस्विर खिचाएका हुन् । प्रशासन,शिक्षा,स्वास्थ्य सेवा मात्र होइन उपल्ला तहका प्राविधिक कर्मचारीहरु समेत हुल बाँधेर विधान महाअधिवेशनमा पुगेपछि भोलि अरुले यसो गर्दा औंला ठड्याउन ठाउँ बाँकी रहने कि नरहने भन्ने प्रश्न उठेको हो । अहिले काङ्ग्रेसको चुनावमा पनि शिक्षक र कर्मचारी त्यसैगरी भिडेको देखिन्छ ।

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका उपप्राध्यापकसमेत पढाउन छाडेर गोदावरी गएको सामाजिक सन्जालमा सगौरव पोस्ट भएको देखिन्छ । तीर्थ सुवेदी,देउकाजी गुरुङ,शालिकराम पराजुली,सुरज लामिछानेहरु यसरी गोदावरी पुगेका हुन् । इन्जिनियरिङ क्याम्पसका पूर्व डीन भरत पहारीविरुद्ध अकुत आर्जनको मुध्दा अख्तियार र विशेष अदालत हुँदै अहिले सर्वाेच्च अदालतमा विचाराधीन छ तर उनैलाई भर्खर पार्टीको अनुशासन आयोगमा सचिव नियुक्त गरिएको छ ।

निजामती सेवा ऐन ०४९ को दफा १२ ले ‘निजामती कर्मचारी कुनै राजनीतिक पदाधिकारीको व्यक्तिगत,व्यावसायिक वा राजनीतिक इच्छालाई प्रवर्धन गर्ने क्रियाकलापमा संलग्न हुनु हुँदैन ।निजामती कर्मचारी कुनै पनि राजनीतिक दल,तिनका भातृ संगठन वा कुनै दलको नेताको समर्थन वा विरोधमा कुनै विचार व्यक्त गर्न वा त्यसमा कसैलाई समर्थन वा विरोध गर्नका लागि प्रभावमा पर्नु हुँदैन भनेर किटान गरेको छ ।

टिप्पणीहरू