ज्योतिषको कुरा

ज्योतिषको कुरा

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार नगरेका कारण सत्ता गठबन्धनभित्र नयाँ समस्याहरू देखा परेका छन् । त्यसो त यो पूरा गठबन्धनै समस्यामा परेका पार्टीहरू मिलेर बनेको हो ।

ज–जसलाई समस्या परेको छ उनीहरू नै यो गठबन्धनमा छन् । समस्यै समस्या भएका पार्टीहरू मिलेर गठबन्धन बनाएपछि त्यसबाट समस्याबाहेक अर्को उत्पादन नहुने पक्कै भयो । अहिले भइरहेको त्यही हो । अब प्रश्न उठ्छ, यसको समाधानचाहिँ कसरी निकाल्ने ?

यसबारे चाहिँ अहिल्यै केही भन्न सकिने अवस्था छैन । किनभने यो भन्ने हैसियत अहिले राजनीतिक पार्टीहरूले होइन, पश्चिमतिरका कुनै ज्योतिषले मात्रै राख्ने गर्छ । सुनिन्छ, प्रधानमन्त्री देउवा अहिले त्यही ज्योतिषले भनेअनुसार काम गर्दै हुनुहुन्छ ।

उहाँ यतिबेला न माधव नेपालले भनेको मान्नुहुन्छ, न प्रचण्डले भनेको मान्नुहुन्छ, न उपेन्द्र यादवले भनेको मान्नुहुन्छ । उहाँ केवल त्यही ज्योतिषले भनेको मात्रै मान्नुहुन्छ । ज्योतिषले असोज महिनाभरि नै मन्त्रिमण्डल विस्तार नगर्नु भनेको छ रे ।

अब ज्योतिषले विस्तार नगर्नू भनेपछि कसरी विस्तार गर्ने ? त्यो त सम्भवै छैन । यदि माधव नेपाल वा प्रचण्डहरू आफूले भनेको पनि प्रम देउवाले मानोस् भन्ने चाहनुहुन्छ भने उहाँहरूले एउटा काम गर्नुप¥यो, त्यो ज्योतिषलाई आफ्नो पार्टीमा प्रवेश गराउने ।

ज्योतिषै आफ्नो पार्टीको सदस्य भएपछि उनलाई ह्वीप लगाएर भए पनि यो गर, यो भन भन्न सकिन्छ होला नि । कि कसो ?

टिप्पणीहरू