चार लाख नगद सेनापतिलाई चढाउँदा

चार लाख नगद सेनापतिलाई चढाउँदा

‘खान्न–खान्न लोकाचार, खाएपछि माना चार’ भनेजस्तो रहेछ, नेपाली सेनाको चलन । अनियमितता आरोपमा अरुलाई कारवाही गर्ने हाकिम आफूचाहिँ खासै शुद्ध नहुँदा रहेछन् ।

राजेन्द्र थापा र पूर्णचन्द्र थापाको कार्यकालमा हेटौंडा–काठमाडौं फास्टट्रयाकमा भएका घोटाला र कारवाहीको मामिलालाई सूक्ष्म रुपमा अध्ययन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेका प्रधानसेनापति प्रभुराम शर्मासँग शुरुमै सोध्नुभयो, ‘निकै गडबड सुनिन्छ नि !’ प्रधानमन्त्रीको सोधाईमा प्रभुरामको जवाफ थियो, ‘हो हजुर, मैले पनि त्यस्तै सुन्या छु !’

आर्थिक मामिला कस्तो रहेछ भन्ने कुरा ‘महिनावारी’को घटनाले पनि बताउँछ । केही दिनअघि प्रभुरामलाई ‘महिनावारी’ बुझाउने एउटा टोली यस्तो मनोबलका साथ पुग्यो कि, त्यस्तो ‘कोशेली’ पूर्णचन्द्रको पालासम्म चलनकै रुपमा रहेछ ।

४–५ जना हुँदा पनि हैन, ब्रिगेडियर र महासेनानीसहित ३०–४० जनाकै बीचमा छलफल गरिरहँदा घरखर्च चलाउन भद्रकालीको रिपुमर्दिनी पेट्रोल पम्पबाट तीन लाख र सस्तो पसलबाट एक लाखको ‘महिनावारी’ बिटो लिएर एक हुल शशीभवन पुगेको प्रभुरामले सुनाए ।

तिनलाई प्रभुरामले सोधे, ‘यो के ल्याएको ?’ उनीहरुले सविस्तार प्रचलनको कुरा सम्झाउँदा ‘यस्तो नचाहिने काम किन गरेको ? कसले पैसा ल्याउनु भन्यो यहाँ ?’ भन्दै प्रभुराम कराए ।

तर, उनीहरुले ‘पहिला–पहिला चिफसा’बका स्टाफहरुले ल्याउन ढिला हुँदा पनि कराउनुहुन्थ्यो, त्यही भएर हजुरलाई बेलैमा टक्र्याएको…’ भन्दै थिए । प्रभुराम जुरुक्क उठेर आइन्दा यस्तै ग¥यौ भने ठीक हुन्न भन्दै रन्किए ।

कार्यकालभरि पल्टनहरुका भोज–भतेरमा बन्देज लगाउने पूर्णचन्द्र आफू रिटायर्ड हुने भएपछि शशि भवनमा भोज चलाएको प्रमाण भेटियो, डङ्ग्रङ्ग लडेका बियरका बोतलहरुबाट । अहिले पूर्णचन्द्रका रायमाझी थरका सालो घर बेच्न व्यस्त छन् । ललितपुर, जावलाखेलमा बसोबास गर्ने उनको बूढानीलकण्ठमा स्विमिङ पुलसहितको घर छ ।

त्यो घर हेलिकोप्टर पाइलट अनुप मल्ललाई भर्खरै १८ करोडमा बिक्रि गरिएको छ । प्रत्येक प्रधानसेनापतिसँग नजिकिएर अकुत सम्पत्ति आर्जन गर्ने ठेकेदार हुन्, लोकेन्द्र कार्की । अहिलेका कानुन मन्त्री ज्ञानेन्द्र कार्कीका भाइ ।

उनले ‘सोल्टिनी’ नामक नेपाली फिल्ममा हिरोको रोल पनि गरेका छन् । सेनाका विभिन्न ठेक्कापट्टाबाट आर्जित रकमबाट उनले हालै नख्खुस्थित मेडिसिटी अस्पतालको छेउमा पाँच रोपनी जग्गा खरिद गरेको चर्चा छ ।

टिप्पणीहरू