​सक्लान् सबले यिनबाट सिक्न ?

  • राजेन्द्र स्थापित

चाणक्य भारतमा नन्द वंशलाई नाश गरेर मौर्य वंशको शासन स्थापना गर्ने विद्वान हुन् । उनले चन्द्रगुप्त मौर्यलाई राजा बनाए र आफू राजनीतिक सल्लाहकार बने । वर्तमानमा पाकिस्तानको रावलपिण्डी शहर नजिक तक्षशिलामा इशापूर्व ३७० मा जन्मेका विष्णुगुप्त नै कालान्तरमा चाणक्य र कौटिल्यको नाउँले प्रख्यात बनेका हुन् । उनीद्वारा रचित अर्थनीतिलाई मौर्यकालीन समाजको दर्पण मानिन्छ ।
चाणक्यबारे फैलिएको प्रशिद्धि र गुणगान सुनेपछि एकजना चिनियाँ दार्शनिक भेट्न तक्षशिला पुगे । घर पुग्दा अँध्यारो भइसकेको थियो । कोठाभित्र दियोको प्रकाशमा चाणक्य केही लेख्दै थिए । चिनियाँलाई देखेपछि मुसुक्क हाँस्दै ढोकासम्म पुगी स्वागत गरे । तुरुन्त लेखन कार्य सिध्याए र दियो निभाए । अनि अर्को दियो बालेर कुराकानी गर्न बसे । चिनियाँ दार्शनिक आश्चर्यचकित भएर हेरिरहे । उनले सोचे, शायद भारतमा यस्तै चलन होला । तैपनि जिज्ञासापूर्वक प्रश्न गरे, ‘मित्र, मेरो आगमनमा तपाईंले बलिरहेको दियो निभाएर ठीक उस्तै नयाँ दियो बाल्नुभयो । मैले दुवै दियोमा कुनै फरक देखिनँ । के भारतमा पाहुना आउँदा नयाँ दियो बाल्ने चलन छ ?’

चाणक्य मुसुक्क हाँसे अनि उत्तर दिए, ‘होइन मित्र, यस्तो केही होइन । तपाईं जब कोठामा प्रवेश गर्नुभयो, त्यो बेला म राज्यको काम गर्दै थिएँ, त्यसैले त्यो दियो बल्दै थियो । जसमा राज्यकोषबाट किनएको तेल थियो । तर, अब त म तपाईंसित कुरा गर्दै छु । यो नितान्त मेरो व्यक्तिगत वार्तालाप हो, त्यसैले त्यो दियो उपयोग गर्न सक्दिनँ । यसो गर्नु भनेको सरासर राज्यकोषको धन दुरुपयोग गर्नु हो । अतः मैले दोस्रो दियो बालेँ । स्वदेशप्रेमको अर्थ देशको कुनै पनि वस्तुलाई आफ्नै ठानेर रक्षा गर्नु हो ।’

चाणक्यको देशप्रेम देखेर चिनियाँ दार्शनिक नतमस्तक बने । र, दोहो¥याएर अभिवादन गरे । 

चर्चित चोरी
चित्रकार लियोनार्दो दा भिन्ची इटलीका हुन् । उनले सन् १५०३ मा एउटा चित्र कोर्न शुरु गरे । फ्लोरेन्स निवासी रेशम व्यापारी फ्रान्सिस्को डेल जियोकाण्डोकी पत्नी लिसा घेरार्दिनीलाई देखेर सो चित्र बनाउन थालेका हुन् । त्यो संसारप्रसिद्ध र अत्यन्त मूल्यवान चित्रकला ‘मोनालिसा’ सन् १५१७ मा तयार भयो । मोनाको अर्थ इटलीको भाषामा ‘म्याडम’ हुन्छ । यद्यपि जर्मन कला इतिहासकार सुश्री माइक बोग्ट लेरसनले सो चित्र इटलीकै अरांगो प्रान्तका ड्युककी पत्नी इशाबेलको हो भन्ने दाबी गरेकी छन् । उनका अनुसार ड्युक रक्सी सेवन गरेर दिनहुँ इशाबेललाई कुटपिट गर्थे । त्यो बेला लियोनार्दो ड्युकको दरबारमा शाही कलाकारको रुपमा कार्यरत थिए ।

७७ सेमी उचाइ र ५३ सेमी चौडा यो चित्रकला पछि पेरिसस्थित संसारकै ठूलो लुभ्र कला संग्रहालय (जहाँ ३८ हजार चित्रकला संग्रहित छन्) मा राखियो । अहिलेसम्म यो चित्रकला एक करोडले हेरिसकेको तथ्यांक छ । सन् १९६२ मा यो चित्रको १० करोड डलरको बीमा गरिएको थियो, अर्थात् यसको भाउ ८० करोड डलर पुगेको छ ।

सन् १९११ मा ६ जना अमेरिकी प्रत्येकले ३३ लाख डलरमा मोनालिसाको चित्रकला किने । खरिदकर्ता सबैले ठानेका थिए कि आफूसँग भएको चित्रकला नै सक्कली हो । यथार्थमा ती सबै नक्कली थिए । सबैलाई छक्याउने बहादुर हुन्– इभेस चोड्रन । इभेस प्रसिद्ध कलाकृतिको नक्कली चित्र बनाउनमा माहिर ठग थिए । उनले सन् १९१० मै मोनालिसाको उस्तै चित्र बनाइसकेका थिए । उनको भाग्य ! एक वर्षपछि नै मोनालिसाको सक्कली चित्र लुभ्र संग्रहालयबाट गायब भयो । अगस्त २१ मा सोही संग्रहालयका कर्मचारी भिन्सेन्जो पेरुगियाको सहयोगमा दुईजनाले चोरे । चोरीको समाचार फैलिनेबित्तिकै विश्वभरिका धनी मानिस उक्त चित्रकला किन्ने होडबाजीमा लागे र यो सुनौलो मौकाको फाइदा उठाए फ्रान्सिसी ठग चोड्रन र मित्र माक्र्वेस वेलफियानेग्ले । चोड्रनले यसअघि पनि स्पेनका चित्रकार बार्तोलोमी मुरिलोको नक्कली चित्र बनाई धन कमाइसकेका थिए । उनीहरु अर्जेन्टिना हुँदै मेक्सिको पुगे । पेरिस पुगेर मोनालिसा चोरीसम्बन्धी सम्पूर्ण तथ्य संकलन गरे अनि फेरि अमेरिका पुगे । 

चोड्रन र माक्र्वेसले मोनालिसाको चित्र अमेरिका पुगिसकेको हल्ला फिँजाए जबकि चोरले चोरेको चित्र फ्रान्सबाहिर लानै सकेको थिएन । एकदिन चोरीमा संलग्न पेरुगियाले दुईजना चोरबाट चित्र फुत्काए । आपैंm लियोनार्डो डा भिन्सी हुन् भन्दै चित्र बेच्ने गए । सन् १९१३ को नोभेम्बरमा फ्लोरेन्सका एकजना व्यापारीलाई बेच्ने चाँजोपाँजो मिलाए । व्यापारीलाई त्यो व्यक्ति चर्चित कलाकार लियोनार्दो हुन् भन्नेमा शंका लाग्यो । प्रहरीको सहयोग लिएपछि पेरुगिया पक्राउ परे । दुई वर्षमा चित्र सकुशल लुभ्र संग्रहालय पुग्यो । चोरी भएको मोनालिसाको चित्र पुनः संग्रहालय पुगिसकेको खबर हावासरी फैलिएपछि बल्ल ६ जना अमेरिकीले आफूहरु ठगिएको चाल पाए । त्यसबेलासम्म ठग चोड्रन लापत्ता भइसकेका थिए । उनी पछिसम्म पक्राउ परेनन् र सन् १९३२ मा मेक्सिको सिटीमा देहान्त भयो । 

बन्दागोभीको निम्ति…
सन् २८३ मा क्यारस रोमन सम्राट बने । उनको शासनकाल एक वर्षसम्म मात्र रह्यो । छोराहरुबीच शक्तिसंघर्ष भयो । कान्छो नुमेरियन अरुको तुलनामा शक्तिशाली सावित भए तर जर्नेल दिओक्लेसियनबाट युद्धमा पराजित बने । दिओक्लेसियन तल्लो जातिका थिए । सेनामा भर्ती भई प्रगति गर्दै ३९ वर्षको उमेरमा सन् २८४ मा रोमको सम्राट बने । २१ वर्ष राज्य चलाए । तरकारीमा बन्दागोभी खुब मन पथ्र्यो । सम्राट भइकन पनि बारीमा बन्दागोभीको हेरचाह गर्न गइराख्थे ।

उनको शासनकाल विद्रोह दबाउन र छिमेकी राज्यसँग युद्ध लड्नमै अल्झियो । यसैकारण आफ्नो प्रिय तरकारी बन्दागोभी फलाउनमा पर्याप्त समय दिन सकिएन भन्दै सन् ३०५ मा गद्दी त्यागे । शासनसत्ता आफ्नै मित्र मैक्सीमिलनलाई सुम्पेर बाँकी जीवन बन्दागोभी फलाउनतिर लागे । सारा समय बारीमा बिताउन थाले । धेरैले पछि पनि पुनः सम्राट बन्न आग्रह गर्दै गए तर उनी हाँस्दै जवाफ दिन्थे, ‘बन्दागोभीको लहलहाउँदो बोट हेरे थाहा हुन्छ, जीवनमा यो जस्तो आनन्ददायी र ठूलो काम अरु छैन ।’

उनको निधन सन् ३१२ मा स्वाभाविक रूपमा भयो । नभए उनीभन्दा अगाडिका २६ जना रोमन सम्राट कसैको, हत्या, विषपान वा युद्धमै भएको थियो । 

चिठ्ठाको चक्कर
अन्धविश्वासको कुनै सीमा हुँदैन । मलेसियाको रबर बगानमा काम गर्ने ३२ वर्षीया भि. कृष्णनले सन् १९८४ मा एउटा चिठ्ठा किनिन् । ज्योतिषले उनलाई भने कि एकजना नाबालिगलाई बली चढाउन सकेमा चिठ्ठा आफ्नो नाउँमा पर्छ । लगत्तै कृष्णनले १६ वर्षे केटाको हत्या गरिदिइन् । चिठ्ठा त परेन नै तर अदालतबाट मृत्युदण्डको सजाय भने जरुर पाइन् ।

टिप्पणीहरू