एकीकृत समाजवादीबाट चन्द्रागिरीमा कसले बुझायो पैसा ?

एकीकृत समाजवादीबाट चन्द्रागिरीमा कसले बुझायो पैसा ?

कोही साहु कस्ता पनि हुन्छन् भने, पैसा ति¥यो भनेर रिसाउने ! ग्लोवल आइएमईसहित चन्द्रागिरी हिल्सको समेत मालिक रहेका चन्द्र ढकाल अहिलेसम्म माधव नेपालसँग दिक्क मानिरहेका छन् । कारण हो, माधवले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्नुअघि बन्द भेला र प्रशिक्षण आयोजना गर्दाको रकम भुक्तानी गरेको ।

आमअनुमान हो, त्यो रकम तिरिएको छैन । तिरेकै भए पनि पक्कै कुनै व्यापारी स्पोन्सर गर्नेमा परे ! तर, यी दुबै कुरा सत्य हैनन् । अहिले पार्टी कार्यालयको लेखा फाँटमा त्यहाँको बिल सुरक्षित छ, जसमा मूल्य अभिवृद्धि कर, सेवाशुल्कसहित झण्डै १२ लाख रुपैयाँ तिरिएको देखिन्छ । नयाँ पार्टीको यो रकम तिराई, पार्टी कार्यालय खोजाईका केही दिक्कलाग्दा प्रसंग छन् ।

पहिला भन्दै नभनी माधव नेपालसहितका नेता चन्द्रागिरी उक्लिएपछि त्यसका मालिक चन्द्र ढकाल छक्क परे । माधव नेपाल प्रधानमन्त्री पदबाट ०६८ माघ २० गते बाहिरिनु भएको थियो । त्यसको दुई दिनअघि, अर्थात् १८ गते चन्द्रगिरी डाँडोमा उक्त संरचना निर्माणको स्वीकृति दिनुभएको हो । त्यसबापत चन्द्रले दुई–चार पटक विदेशी पाहुनालाई राखिदिनेबाहेक पटक–पटक ‘सेवा गर्ने मौका’ मागिरहे ।

तर, पाएनन् । माधवले ‘परेको बेला भनौँला’ भन्दै टारिरहनुभयो । चन्द्रचाहिँ अचम्म मान्छन्, ‘यही देशमा यस्ता नेता पनि रहेछन्’ भनेर । जब भदौ ८ गते माधव नेपालहरू चन्द्रागिरीतिर लाग्नुभयो र जानेबित्तिकै बैठकमा व्यस्त रहनुभयो । चन्द्रले स्टाफहरूलाई सोधे, खोजे । कसैले माधवनजिक गएर कुरा गराउन सकेनन् । त्यसपछि तनहँुका सांसद तथा व्यापारी किसान श्रेष्ठलाई चन्द्रले फोन गरे । किसानकै मोबाइलबाट माधव र चन्द्रबीच कुराकानी भयो ।

कुरा सकिएपछि चन्द्रले भने, ‘मैले आजसम्म उहाँको गुण तिर्ने मौका पाएको थिइन । जे–जति बिल भएको छ, त्यो मेरो पर्सनल अकाउण्टमा हाल्नु भनेर स्टाफहरूलाई भनिसकेको छु । म परेको र सकेको सहयोग गर्दै रहन्छु । अहिलेलाई त्यो बिल त्यहीँ रहोस्, मेरै नाममा !’ किसानले ‘धन्यवाद्’ भने, फोट काटे । पर्सिपल्ट बैठक सिध्याएर सीधै निर्वाचन आयोग जान भनी सहभागी सबै नेता टुरिस्ट बसमा चढ्ने तरखर गरिरहेका थिए ।

डोटीका सांसद प्रेम आलेले माधव नजिक पुगेर एउटा चिर्कटो निकाल्दै भने, ‘मैले बिल तिरेँ हजुर…!’ माधवले अचम्म मान्दै सोध्नुभयो, ‘किन तिर्नुभएको ? मैले तिर्नु भनेको थिएँ ?’ आलेले भने, ‘काउन्टरमा सोधेको, यति पैसा भयो भन्दै थियो । अनि, मैले गरिदिएँ हजुर…!’ गाली गरौँ, रिसाऔँ, दल दर्तामा जानु छ, उनैको समेत संख्या मिलाएर २० प्रतिशत सांसद पु¥याउनु छ । केही नभनौँ, कसरी सहनु ? माधव अप्ठेरोमा पर्नुभयो । खासमा उहाँ आलेसँग रिसाइसक्नुभएको थियो । रिस पोख्नमात्रै समस्या !

एकैछिनमा फेरि चन्द्र ढकालले रिसाएर किसानलाई फोन गरे । ‘तपाईंहरूले यस्तो गर्ने ? मैले भन्दाभन्दै मेरो कुरालाई इग्नोर गर्ने ? मजा भएन यार यो त † मैले एकदम ह्युमिलिएट फिल गरेँ †’ तर, यतिबेलासम्म किसानलाई पनि थाहा रहेनछ– प्रेमले हत्तपत्त पैसा तिरेको कुरा । उनले सोधे, ‘के भयो ?’ चन्द्रले भने, ‘प्रेम आलेजीले हत्तपत्त गएर पैसा तिर्नुभएछ । स्टाफहरूले पनि मलाई सोधेनन् । साह्रै नमज्जा भयो । बूढासँग त्यत्रो कुरा गरेँ ।

अन्तिममा पैसा तिरेर मलाई नमज्जा बनाइदिने ?’ किसान पनि नाजवाफ बने । उनले यही कुरा माधवलाई सुनाए । माधवले सानो स्वरमा प्रेमबारे भन्नुभयो, ‘कस्तो मान्छे होला त्यो !’ उहाँले ‘चन्द्रलाई म मिलाएर भन्छु’ भन्नुभयो । किसानले भने, ‘उनी त फायर भइसके हजुर, यस्तो–यस्तो गर्ने भनेर मलाई गुनासो गर्दै थिए !’ खासमा ‘फायर’ त चन्द्रभन्दा माधव नै बढी हुनुभएको थियो, देखाउनमात्रै नमिलेको !

त्यसअघि नै पार्टी कार्यालय खोज्ने मामिलामा प्रेमले माधवलाई दिक्दार बनाइसकेका थिए । अरुले खोजेको कार्यालय नहुने, आफैँले खोजेको कार्यालय प्रयोग गर्नुपर्ने उनको जोड थियो । पार्टी दर्ता हुनुअघि नै किसानले बबरमहलस्थित धोवीखोला कोरिडोरसँगै किंग्स कलेजनजिकैको एउटा घर भाडामा लिने कुरा चलाए । त्यो घर व्यापारी दिपक मल्होत्राकी भाइटिका गर्ने र हाल क्यानाडा बस्ने बहिनी शान्ति थापाको नाममा छ ।

पार्केटिङ गरिएको, फुल फर्निसिङ, एसीसहित पार्किङ र अन्य सुविधा पनि भएको उक्त घरलाई ३–४ लाख भाडा तिर्दा पनि फरक नपर्नेखालको थियो । माधव आफैँले घर हेर्नुभयो, चित्त पनि बुझाउनुभयो । तर, कसैले नचाहिँदो चुक्लि लगाए ‘यो घर त मल्होत्राले सुनको गोदाम बनाएको घर ! केपीको मान्छे ! हामीले पार्टी अफिस बनाएपछि त्यही कारणले बद्नाम हुने भइयो…!’ माधवले ‘होला त’ भनेर किसानलाई ‘अर्को घर खोजौँ न’ भन्नुभयो ।

त्यसपछि किसानले वाहियात कुरा भन्दै त्यो घर भाडामा हैन, आफैँले किन्ने सुर कसे । मल्होत्रासँग उनको पटक–पटक कुराकानी भयो । ओलम्पिया वल्र्ड स्कुल बसेको र ११ नम्बर वडा कार्यालयलाई बेच्ने गरी ठिक्क पारिसकिएको उक्त घरको १० करोड मूल्य तोकिएको थियो । पार्टीलाई हो भने ८ करोडमै दिने भनियो । तर, किसानले ‘पार्टीसँग पैसा छैन, अहिले मैले किन्ने हो, १० करोडै हाल्छु’ भने । उनको योजना थियो, अहिले आफ्नो नाममा किन्ने । पछि पार्टीबाट पैसा लिएर दिने । पार्टीले किनेन भने थोरै पैसा भाडा लिएर पार्टीलाई प्रयोग गर्न दिने ।

तर, बिक्रि गर्ने कुरामा समस्या भयो, घरधनी शान्ति क्यानाडामा हुनु र महानगरपालिका बोर्डले हिजोसम्म पनि निधो नदिनुले । अधिकृत वारेशनामा पनि छैन । दूतावासमार्फत पठाउन केही समय लाग्ने भयो । तर, यही कारण पार्टी कार्यालय नखोज्ने कुरा पनि भएन ।

प्रेम आलेले मीनभवनस्थित हाल कार्यालय बसेको घर खोजे । त्यो घरमा पार्टी कार्यालय सरेकै दिनदेखि समस्या आयो, पानी छिर्ने । कार्यालय सरेकै दिन छड्के पानी दर्किएर प्रत्येक कोठामा पानी जम्ने । अरु त अरु, अध्यक्ष माधवकै कार्यकक्ष खोलाझैँ बन्न पुग्यो । घरधनी पूजा थापा बस्नेत हुन् । धनकुटा माइत भएकी उनी स्व.सूर्यबहादुर थापाकी भतिजी नाता पर्ने । पति हुन्, जीवन बस्नेत ।

उनीहरू सुनसरीको झुम्का घर भई अहिले ललितपुर, कुपण्डोलमा बस्छन् । मीनभवनको घर कामलाग्दो नभएपछि अब उक्त घरमा विभिन्न जनसंगठनका कार्यालय राखिने र किसानले किन्न लागेकै किङ्स कलेजसँगैको घरमा कार्यालय सारिने सम्भावना छ ।

टिप्पणीहरू