विधानमै ओलीलाई सजिलो हुनेगरी उमेर हदको ब्याख्या

विधानमै ओलीलाई सजिलो हुनेगरी उमेर हदको ब्याख्या

अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गरिएको चर्चाका बीच नेकपा एमालेको विधानमा ओलीलाई लक्षित गरेर ७० वर्षे उमेर हदसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीलाई सजिलो हुने ब्याख्यासहितको ७० वर्षे उमेर हद कायम गरिएको हो ।

उमेर हदबारे थप ब्याख्या गर्दै ७० वर्ष पूरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा व्यवस्था गरिएको छ । फागुनदेखि ७१ वर्ष लाग्न लाग्नुभएका ओलीलाई पुन: अध्यक्ष बन्ने बाटो खुला गर्ने मनशायका साथ यस्तो व्यवस्था गरिएको दाबी गरिएको छ ।

महाधिवेशनको तेस्रो तथा अन्तिम दिन आज विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले ७० वर्षे उमेर हदबारे व्याख्या गर्नुभएको थियो । सो क्रममा उहाँले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएमा कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूरै कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

यसअघि ७० वर्षे उमेर हद कायम गर्न महाधिवेशनका प्रतिनिधिहरुले सुझाव दिएका थिए । त्यस्तै प्रतिनिधिहरुले एउटा व्यक्ति दुई पटक मात्र कार्यकारी पदमा रहन पाउने व्यवस्था गर्न पनि सुझाव दिएका थिए । जवाफ दिने क्रममा पौडेलले एक व्यक्ति दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाउने व्यवस्था विधानमा राखिएको जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओली आगामी फागुनमा ७० वर्ष पुग्दै हुनुहुन्छ । त्यसअघि नै मंसिरमा एमालेले राष्ट्रिय महाधिवेशन गर्दैछ । ओलीलाई लक्षित गरेरै विधानमा उमेर हदसम्बन्धी व्यवस्थाको थप ब्याख्या र मंसिरमा महाधिवेशनको मिति तोकिएको एमाले नेताहरु बताउँछन् ।

विधानमा गरिएको ७० वर्ष उमेर हदको यस्तो व्याख्याले अब ओलीलाई अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न विधान बाधक नहुने निश्चित भएको छ ।

टिप्पणीहरू