परपुरुषको सम्बन्ध र पारिवारिक प्रलय
गत बिहीबार १४ वर्षे छात्रा करणीको बात लागेका प्रकाश थापाको थुनछेकनिम्ति बहस चल्दै थियो । सशस्त्र र नेपाल प्रहरी व्यापक तैनाथ थिए । अदालत परिसरभन्दा ५० मिटर वरिपरि कसैलाई छिर्न दिइएको थिएन ।
तर, एक ७६ वर्षीया महिला प्रहरीले छेक्दाछेक्दै अदालतभित्र छिरिन् । थुक्क नकच्चरी, लाजसरम छैन ३० लाख चाहियो भन्न ? कुन मुखले बोलेकी छस् ? अझै सतिसावित्री छु भन्दै नाक ठाडो पार्ने ? भन्दै भएभरका पाँडे गालीले बुहारीलाई सराप्न थालेपछि सबैको ध्यान त्यतै मोडियो ।
कास्कीका वरिष्ठ अधिवक्ता कृष्ण थापाको ल फर्ममा कार्यरत राइनास धमिलीकुवाका ईश्वरी चिलुवालले उचालेर ३० लाख माग दाबीसहित अंश मुद्दा हालेकी दोर्दी–६ की ३८ वर्षीया गोमा भुजेललाई अदालत परिसरभित्र लोपारिदिन्छु भन्दै ७६ वर्षीया आमा कस्सिएकी हुन् ।
कारण निकै रोचक छ । गोमाका श्रीमान् अमृत भुजेल भारतीय सेनाका लाहुरे । पहिलो घरबार भत्किएपछि झण्डै १५ वर्ष कान्छी गोमालाई बिहे गरे । गोमा भारतेबाट भोटेओडार डेरा खोजेर बस्न थालिन् । एक छोरीकी आमा गोमा डेरा सर्दै सिउँडीबार सुन्दरबजार पुगिन् । यसैक्रममा तनहुँ दमौलीतिर घर भई बेसीशहर भोर्लेटार बस चलाउने जीवन शाहीसंग सम्बन्ध भयो ।
शाहीकै सल्लाहमा गोमा डेरा सरिन्, आफ्नै माइती गाउँ मध्यनेपालको रम्घामा । गोमा लाहुरेको बूढी भन्दा पनि ड्राइभरको बूढी भनेर चिनिन थालिन् । ०७३ माघमा लाहुरे छुट्टी आए । ड्राईभर संगै । गोमाले मित भाइ भनिन् ।
वरिपरिकाले आज के हुन्छ भनेर लख काटेकै थिए । लाहुरेले ल्याएको रक्सी दुवैले खाए । जीवन निकै बाठो, थोरै पिएर लाहुरेलाई झल्लु बनाए । लाहुरे मातिएपछि गोमाले सुत्न लगिन् । जीवन अर्को कोठामा । उत्तेजित पारेर लिङ्गमा मसला पिस्ने लोहोरोले हानी लाहुरेको हत्या गर्न खोजेपनि मुर्छित लाहुरेको आवाज छिमेकले चाल पाएर तत्काल उद्धार गरे । जीवन फरार भयो ।
लाहुरेलाई उपचारका लागि मणिपाल अस्पताल लगियो भने गोमा प्रहरीको फन्दामा परिन् । लाहुरे अमृतले प्रहरीमा किटानी जाहेरी दिए । गोमा र जीवनलाई हत्या उद्योगमा जिल्ला अदालतले सात वर्ष कैदको फैसला ग¥यो ।
तर पुनरावेदन अदालत पोखराले लोग्ने स्वास्नीको सामान्य कुटपिट भन्दै १७ महिनापछि जिल्ला अदालतको फैसला उल्टाइदियो । सर्वोच्च अदालतले पनि पुनरावेदनकै फैसलालाई सदर गरिदिएपछि झण्डै ज्यान गुमाएका लाहुरे यसै पीडित त थिए अहिले उल्टो ३० लाखको माग दाबीसहित अंश मुद्दा परेपछि छलफल गर्न अदालत झिकाइएको लाहुरे न रहे बाँस न बज्यो बाँसुरी भन्दै अनुहार पुरा छोपेर वकिलको साथमा रहेकी गोमातिर फर्केर मुर्मुराई रहेका थिए ।
– अञ्जनकुमार
टिप्पणीहरू