​कुमाइका घुमाइ, सबथोक गुमाइ

ठग्नेहरू शानसँग जीवनयापन गर्ने र ठगिनेहरू निरीह भएर हिँड्नुपर्ने कस्तो विडम्बना ! कस्तो न्याय ? कस्तो बाध्यता ? भन्छन्, मनको व्यथा कसैलाई नकह । तर, कहीँ–कतैबाट इन्साफ नपाएको एउटा बबुरो आज आफ्नो पीडा दुनियाँसामु पोख्दै छ ।

कहाँको करोडपतिको छोरा आज आफ्नो र परिवारको पापी पेट पाल्न अरूकहाँ मजदुरी गर्दै छु । होटल मजदुरका रूपमा जीवनयापन गरिरहेछु । भैरहवादेखि काठमाडौं खाल्डोमा यही कथा सुनाउन आएको हुँ । चिरञ्जीवी खरेल, टंकप्रसादको पुत्र हँु । वर्षदिनदेखि मानसिक र शारीरिक प्रताडना भोगेर हिँडिरहेछु । कहाँको वसन्तजस्तो हराभरा जिन्दगी आज निरस र उजाड बन्न पुगेको छ । शम्भु थापा उर्फ गुनबहादुरजस्ता बैगुनीहरू मेरो बुबाको जिन्दगीमा नआइदिएको भए आज कहाँ पुग्थ्यो मेरो जिन्दगी ? 

कुनैै बेला चितवनमा पिताजीको नाम थियो । गनिएका व्यापारी । आज पनि नारायणगढ बजारमा कैलाश खाद्य स्टोर भनेपछि धेरैले चिन्छन् । तर, जिन्दगी सदैव सरल रेखामा कहाँ हिँड्दो रहेछ र ? उद्योग विस्तार गर्ने हेतुले नेपाल बैंकबाट ५ लाख ऋणका कारण आज मर्नु न बौलाउनुको अवस्थामा छौं । कारोवार गर्दै जाँदा बीचमा भेटिए एक जना आफन्ती । उनले पार्टनरसिपमा मिलेर काम गरे मालामाल हुने आश्वासन देखाए । सोझो पिता उनकै लहैलहैमा लागे । जसोजसो भने, मान्दै गए र कालान्तरमा ऋणमाथि ऋण थपियो । भन्छन् ऋण, आगो र शत्रुलाई कहिल्यै सानो नसम्झनु । त्यो समयमा लिएको पाँच लाखमाथि अर्काे ऋण थपिएर एक करोड ४० लाख रुपैयाँ पुग्यो । मिल रहेकै स्थानको जग्गा धितो राखेर नेपाल सेयर मार्केटबाट २० लाख, शिखर फाइनान्सबाट कुल १ करोड ४० लाख रुपैयाँ ऋण पुग्यो । आखिर यो दुनियाँ स्वार्थीहरूको संसार न हो । जंगलमा बांगा रूखहरूलाई बाँकी राखेर मान्छे सोझा रूखलाई नै छप्काउँछ ।

सोझा पितालाई एकपछि अर्काे ऋणको भारमा भसाएर ती व्यक्ति गायब भए । ती उनै व्यक्ति हुन् जो नवराज सिलवालमाथि खनिएका छन् । उनले हामीलाई यो खाडलमा हालेको कसले देख्ने ? कसले लेख्ने ? ०६८ सालमा आफ्नो नाममा रहेको जग्गा उनकै नाममा गरिदिएर हिसाब मिलान भयो । एकातिर झन्डै ७० लाखभन्दा बढी मूल्य पर्ने जग्गा हात पार्न सफल भए । उता, चक्रिय हिसाबले ब्याजको स्याज, स्याजको प्याज बैंकलाई बुझाउनै पर्ने थियो । ऋणको ब्याज शिखर फाइनान्सलाई पटक–पटक गरी एक करोडभन्दा बढी तिरिसकिएको थियो । तर, साँवा तिर्न सक्ने अवस्था थिएन । तोकिएको मितिमा पैसा चुक्ता गर्न नसकेपछि ती सबै जग्गा बैंकको कब्जामा गयो । एक करोड ५० लाख रुपैयाँ साँवा ब्याजसहित बुझाउने शर्त थियो । पटकपटक गरी झण्डै एक करोड रुपैयाँ बुझाइयो । जब जिन्दगीमा गुनबहादुर भित्रिए त्यहीसँगै सुरु भएको हो उल्टो यात्रा । यो बीचमा शिखर फाइनान्स काष्ठमाण्डप बैंकमा मर्ज भइसकेको थियो ।

हामीले काठमाडौं जिल्ला अदालतमा मुद्दा हाल्यौं । सो मुद्दामा पुनरावेदन अदालत पाटनले ०७३ साल असोज ११ गते बैंकसँग मिलापत्र गरायो । दुःख पसिना आर्जेर कमाएको सम्पत्ति फिर्ता आयो । एउटाको जालझेलका कारण बर्बाद भएर सिद्धिएको थिएँ । यही बीचमा भेटिएका शैलेन्द्रकुमार श्रेष्ठले मेरो पीडा खोतले । 

आर्थिक रूपमा जर्जर भइसकेको थियो अवस्था । दायाँ फर्के पीडा थियो, बायाँ फर्के पनि । कुरा ठीकै लाग्यो । बीचमा मुद्दामामिला पर्ला भन्ने हेतुले त्यो जग्गा नवीन बस्नेतको नाममा पास भयो । तर, जालझेलको यो दुनियाँमा माकुरीले के जाल बुन्दो रहेछ र ? काष्ठमण्डप बैंकलाई हामीले १५ लाख ति¥यौं र एक करोड ३५ लाख शैलेन्द्रकुमार श्रेष्ठको नामबाट जम्मा भयो । शैलेन्द्रकुमार जय अम्बे बचत तथा ऋण सहकारी ललितपुर, मानभवनका सञ्चालक तथा कर्जा प्रमुख । जग्गा हाम्रोबाट उनको नाममा तुरुन्तै पास भयो । १० गते दुई पक्षबीच मिलापत्र भयो । ११ गते नै जग्गा बुबाको नाममा आयो । १२ गते नवीन बस्नेतको नाममा कर्जा दिएबापत धितोको रूपमा नामसारी भयो । 

मैले सहकारी सञ्चालकहरू नवीन बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठसँग दुई महिनापश्चात् साँवा ब्याज बुझाएर जग्गा फिर्ता लिन खोज्दा पाँच करोड माग्छन् । मुद्दा अदालतमा विचाराधीन छ । तारेख बुझ्न जाँदासमेत उल्टै धम्की पाइन्छ । पुस ६ गते श्याम नामक लेखनदासले चितवन अदालतभित्रै १५÷२० लाख दिन्छु, मुद्दा हारेजस्तो गर्नु, फिर्ता लिनु भने । हामीले हाम्रो सम्पत्ति फिर्ता पाउन मुद्दा लडेका हौं । उनले शुरुमा पैसा हाल्दा यो सहकारीमा तपार्इंहरूको शेयर भयो भनेर कागज गराएका हुन् । अहिले त्यो कागज गायब पारिएको छ । पटक–पटक भन्ने गरेका छन् अदालतबाट मुद्दा निस्कियोस् मात्र, अर्काे प्रक्रिया थाल्छु । त्यो प्रक्रिया के हो थाहा छैन । पिता उपचारक्रममा दिल्ली पुग्दा रकम जुटाउन म होटलमा काम गर्नुपर्ने अवस्थामा आइपुगेको छु । हाम्रो सोझो, सीधापनाको फाइदा उठाएर कहिले गुनबहादुर थापाले लुटे, अहिले सहकारीका अध्यक्ष कविन बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र नवीन बस्नेतहरूले भुटे ।

– चिरञ्जीवी खरेल, हाल : भैरहवा

टिप्पणीहरू