सूर्य थापासँग जब रामचन्द्र सन्किए

सूर्य थापासँग जब रामचन्द्र सन्किए

केपी ओलीका सहयोगीलाई बाटोघाटोमै अप्ठेरो पर्न थालेको एउटा घटना हो, दिनदहाडै प्रेस सल्लाहकार सूर्य थापाको सातो टिपिनु । घटना केही साताअघिको हो । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पानीट्यांकी) को पारिपट्टी, मन्दिरसँगै पिपलबोटछेउको चियापसलमा एमालेसम्बद्ध केही पत्रकार चिया पिइरहेका थिए ।

त्यहाँ ‘तामाकोशी सन्देश’ पत्रिका निकाल्ने रामचन्द्र बस्नेतसहितका चार–पाँचजना पत्रकार थिए । सूर्य थापा लखर–लखर हिँड्दै पुगे । रामचन्द्रले सोधे, ‘ओहो, काजी पनि सडकमा ?’ सूर्यले भने, ‘म सडककै मान्छे त हुँ नि !’ कुरैकुरामा रामचन्द्रले भने, ‘केपी ओली त त्यति बेठिक थिएनन्, सब तिमीहरूले बदनाम पारिदियौ । सूर्य थापा र विष्णु रिमालले हो नि केपीलाई सिध्याएको !’ कुरा सुनेपछि सूर्यले रामचन्द्रलाई पत्रकार महासंघको चुनावी प्रसंग निकाल्दै तथानाम भन्न थाले ।

महासंघको चुनावमा रामचन्द्र प्रेस चौतारीको तर्फबाट काठमाडौं जिल्लामा सचिवका उम्मेदवार थिए । तर, सूर्यहरूले उनको टिकट खोसेर विप्लवनिकट पत्रकारलाई आधिकारिक बनाए । रामचन्द्रको बागी उम्मेदवारी जारी थियो । उनले हारे ।

सूर्यले भने, ‘कहाँ–कहाँ गएर चुनाव उठेर हार्छन्, अनि रिस हामीलाई पोख्ने ? जसले उठायो, जसले हरायो, त्यसलाई गएर भन न । हामीसँग के किचकिच गरिराख्छौ !’ त्यसपछि बसिरहेको ठाउँबाट रामचन्द्र जुरुक्क उठे । शुरुमा मुठ्ठी कसेर ताक्न खोज्दै थिए ।

पछि ‘…बान…’ भन्दै उफ्रिए । सँगै चिया पिइरहेका पत्रकारले रामचन्द्रलाई ताने । नत्र, उनले मुड्की बंगारातिर सोझ्याइसकेका थिए । अर्को हातले चिउँडोमा एक पञ्च हान्न खोज्दै थिए, सूर्यलाई स्कुटीमा आएका एकजना सहयोगीले आफूतिर तानेर लगे ।

रामचन्द्र तल्लो तहबाट उठेर पत्रकारिता पेशामा जमेका व्यक्ति हुन् । आफ्नै दुःखले पत्रिका चलाउने उनी कोहीसँग कुनै किसिमको सौदाबाजी गर्दैनन् । तर, उनीमाथि नै ओलीपक्षीय प्रेस चौतारीले घात गरेपछि त्यो रिस सूर्यसँग पोखे । रुखो बोल्ने सूर्यले मुख छाडेरै गाली गरेपछि असह्य भएर मुड्की उज्याएको उनले जनआस्थालाई सुनाए ।

टिप्पणीहरू