करेण्ट लागेर मकुना मर्यो,सदगतको तयारी हुँदै

करेण्ट लागेर मकुना मर्यो,सदगतको तयारी हुँदै

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो ।

आरक्ष कार्यालयले करेण्ट लागेर मकुना मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताउनुभयो । उहाँका अनुसार हात्ती आज बिहान मृत भेटिएको थियो ।

रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको पनि बताउनुभयो । मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको उहाँको भनाइ छ । आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर सदगतको तयारी थालिएको जनाएको छ ।

केही साताअघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको जानकारी दिएको थियो । जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो ।

मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा समेत रहेको थियो । ऊ आरक्षमा रहेका जंगली हात्तीको नाइके समेत थियो । आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाई गर्थ्यो ।

मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जानेक्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरीतर्फका दर्जन बढीको ज्यान लिएको थियो ।

टिप्पणीहरू