घनश्यामको फरक मत कता पुर्याइयो ?-डा.बेदुराम भुसाल

घनश्यामको फरक मत कता पुर्याइयो ?-डा.बेदुराम भुसाल

नेकपा (एकिकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले एमालेको जारी विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिनुभएको छ । फरक मतलाई निस्तेज गरेर महाधिवेशनलाई ओली प्रशंसाको थलो बनाइएको उहाँको टिप्पणी छ ।

आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा विधान महाधिवेशनमा फरक विचार राख्न नदिईएको टिप्पणी गर्नुभयो ।

‘सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौं रकम खर्च गर्ने, र त्यहाँ मोजमजा गर्ने थलो बनाईएको छ । त्यहाँको तामझाम र गतिविधि हेर्दा,केपी ओलीको प्रशंसामा गीत गाउनेजस्तो कुम्भमेला अथवा भेला हो । त्यहाँ न विचार छ,न दृष्टिकोण छ । नयाँ कुरा मैले केही पनि देख्दिन । फरक विचार प्रस्तुत गर्नै पाईएन । घनश्याम भुषालले केन्द्रीय कमिटीमा फरक दस्तावेज पेश गरे, तर गोदावरीमा त्यो प्रस्तुत गर्न दिईएन’,उहाँले भन्नुभयो ।

भुसालले एमालेले संसद अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप पनि लगाउनु भयो । अदालतमा विचाराधीन मुध्दालाई विषय बनाएर संसद अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएको उहाँको भनाइ छ । सदन अवरुद्ध पार्ने कामले एमाले आफै जनताको माझमा नांगिदै गएको उहाँले दावीसमेत गर्नु भयो ।

उहाँले भन्नुभयो,‘यो लोकतन्त्रमाथिको हमला हो । संविधानमाथिको हमला हो । गैरजिम्मेवार र अनैतिक काम हो । जो उहाँहरुले गरिरहनु भएको छ, त्यसले उहाँहरु नांगिनु भएको छ । संविधानमा अदालतमा विचाराधिन विषयमा संसदमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ । एमालेले संविधानको त्यो व्यवस्था विपरितका काम गरिरहेको छ ।’

महासचिव भुसालले क्याबिनेटलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताउनु भयो । तर सरकारले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाउनु भएन ।

टिप्पणीहरू