वाइसियलजस्तै अखिलको नेतृत्व विवाद पनि माओवादी हेडक्वार्टरमा

वाइसियलजस्तै अखिलको नेतृत्व विवाद पनि माओवादी हेडक्वार्टरमा

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) नयाँ सांगठानिक संरचनामा जाने भएको छ । अस्तिदेखि शुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठानिक प्रस्ताव प्रस्तुत गरिएको हो ।

सम्मेलनले एक अध्यक्ष,तीन खुला उपाध्यक्ष,चार समावेशी उपाध्यक्ष, एक महासचिव,दुई उपमहासचिव, प्रदेशबाट आठ सचिव,समावेशीबाट पाँच सचिव र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

बन्द सत्रमा अध्यक्ष रञ्‍जित तामाङले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनउपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको क्रान्तिकारीका उपाध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज रिपोर्टिङ गर्ने काम भैरहेको छ ।

क्रान्तिकारीमा नेतृत्व चयनमा सकस हुने देखिएको छ । सहमतिमै नेतृत्व छानिने भनिएपनि अध्यक्षमा धेरै जना आकांक्षी रहेकाले पार्टीले निर्णय गर्ने सम्भावना बढेको बताइएको छ । त्यसबारे छलफल गर्न माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको थियो ।

तामाङले राष्ट्रिय सम्मेलनबाट बिदा लिने भएपछि आधा दर्जन नेता अध्यक्षको दौडमा छन् । अध्यक्षमा देवकोटा,पञ्चा सिंह,सुरेन्द्र बस्नेत, उत्तम अधिकारीलगायतको चर्चा छ ।

उपाध्यक्ष देवकोटाले भने आकांक्षी धेरै भए पनि नेतृत्व चयन सहमतिमै टुंगिने दाबी गर्नुभयो । जनवर्गीय संगठनको नेतृत्वबारे पार्टीमा छलफल हुनु सामान्य कुरा भएको भन्दै यसलाई हस्तक्षेप भन नमिल्ने उहाँको भनाइ छ ।

यसअघि नेतृत्व चयनमा सहमति जुट्न नसक्दा वाइसिएलले पनि अध्यक्ष छान्ने जिम्मा पार्टीलाई दिएको थियो । पार्टीले समेत निर्णय दिन नसकेपछि केन्द्रीय समिति बैठकले संयोजक र सहसंयोजक तोकेर केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको हो ।

कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न दिनुपर्नेमा पार्टीलाई जिम्मा लगाइएको भन्दै कतिपयले असन्तुष्टिसमेत जनाएका थिए ।

टिप्पणीहरू