गाँजा फालेर भागेको १० मीनेटमा गिरफ्तार

गाँजा फालेर भागेको १० मीनेटमा गिरफ्तार

नेपालबाट भारतर्फ लैजाँदै गरेको एक क्विन्टल गाँजासहित दुई जना समातिएका छन् । हिजो राति साढे १० बजेको समयमा सर्लाहीको मलंगवा नगरपालिका ९, राजदेवी मन्दिर नजिकै सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीलाई देखेपछि गाँजा छाडी भागेका दुई जना समातिएका हुन् ।

सशस्त्र प्रहरी बलको बोर्डर अब्जरभेसन पोष्ट (बीओपी) मलंगवाबाट असइ रुद्रवीर राईको कमाण्डमा खटिएको छ जनाको पैदल गस्ती टोलीलाई देखेपछि अनाधिकृत रुपमा टाउकोमा राखेर भारततर्फ लैजाँदै गरिएको सात पोका गाँजा फालेर दुई जना टाप कसेका थिए ।

गाँजा फालेर फरार भएका उनीहरुलाई हिजै राती प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सीतामढी ३,सोनवर्षा बस्ने २१ वर्षीय धर्मेन्द्र मण्डल र १७ वर्षका भोलाकुमार साह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई गाँजा छाडेर फरार भएको १० मीनेटमा समातिएको प्रहरीले बताएको छ । आवश्यक कारबाहीको निम्ति अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ ।

टिप्पणीहरू