बुध्दको जन्मथलो लुम्बिनी क्रमशः बाहिरी दुनियाँको निम्ति खुल्दै

बुध्दको जन्मथलो लुम्बिनी क्रमशः बाहिरी दुनियाँको निम्ति खुल्दै

कोरोना संक्रमणको जोखिमसँगै बन्द भएको बौध्दमार्गीहरुको आस्था र श्रध्दाको केन्द्र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल शुरु भएको छ ।

गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि सरकारले अन अराइभल भीसा खुला नगर्दा आउन नसकेका बाह्य पर्यटक अहिले देखिन थालेका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या न्युन भए पनि सरकारले अनअराइभल भिसा दिन शुरु गरेकाले आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी भ्रमणमा आउनेको व्यवस्थापन गरिने उहाँको भनाइ छ । ‘कोरोना संक्रमणको जोखिम कायमै भएकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउने गरेका छौं ।

आन्तरिक पर्यटक आउन शुरु भएपनि पहिलाको तुलनामा धेरै कम छ र यसलार्ई गति दिनुपर्छ । हामी आशा गर्छौं दशैं,तिहारजस्ता चाडपर्व पनि आएकाले आन्तरिक तथा बाह्य पर्यटक बढ्नेछन्’, उहाँले भन्नुभयो ।

लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्न कोषले विकास निर्माण,सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा गरिरहेको सदस्य सचिव शाक्यले बताउनुभयो ।

कोषले विश्व पर्यटन दिवसको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको पनि जानकारी दिएको छ । अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम भैरहेको कोषले जनाएको छ ।

टिप्पणीहरू