सशस्त्रमा सँधै नातावाला र खातावालाको बोलवाला

सशस्त्रमा सँधै नातावाला र खातावालाको बोलवाला

सशस्त्र प्रहरी बलमा ‘राम्रालाई भन्दा हाम्रालाई” काखी च्याप्ने प्रवृत्ति झाँगिदै गएको छ । त्यसमा बलका प्रमुख नै अघि सरेपछि अरुले केही भन्ने कुरो पनि भएन । हालैको डिआइजी सरुवामा समेत त्यो प्रवृत्ति देखिएको हो । सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालद्वारा आफ्नो उत्तराधिकारी भन्दै कमल गिरीलाई १ नम्बर प्रदेशको पकलीस्थित बाहिनी लगिएको छ ।

फुली थाप्नासाथ आफ्नै भेग पूर्वमा एक वर्षभन्दा बढी डिआईजी रहेका वंशी दाहाललाई ९ नम्बर बाहिनी (उपत्यका) को प्रमुख बनाइएको छ । दाहालको सरुवालाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग समेत जोडिएको छ । उनलाई सशस्त्र प्रहरी बलमा अदालतको ज्वाईं भन्न थालिएको छ । अस्तिको कम्फर्टेबल सरुवामा त्यहि नाताले काम गरेको भन्नेहरु पनि भेटिएका छन् ।

डिआईजी किशोर प्रधानलाई छोटो समयमा लुम्बिनीबाट सर्लक्क चितवन सारिएको छ । उनी शैक्षिक योग्यताको हिसाबले इञ्जिनियर हुन् भने जन्मथलो तनहुँको बन्दीपुर हो । माओवादी आन्दोलन र पछि संविधान सभा चुनावताका निकै कमाउने सशस्त्र प्रहरी अधिकृतमा वासुदेव थपलिया,कोषराज वन्त र यिनै प्रधान पर्ने बताइन्छ ।त्यतिबेला सुरक्षासँग सम्बन्धित रणनीति,सँरचना र योजना बनाउने जिम्मा यिनैलाई दिइएको थियो । स्रोत भन्छ, ‘त्यो ताका एक रातमा एक करोडसम्म खर्च गरिसक्नैपर्ने आदेश थियो । माओवादीसँग लड्ने र किल्ला बलियो बनाउने नाममा गरिएको खर्च नै कसैको लागि अपूर्व भयो ।’

प्रधान पहिले एमाले अहिले एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको नाता लगाएर पोहोर मात्र लुम्बिनी अर्थात् ५ नम्बर प्रदेश कपिलवस्तुको चन्द्रौटा गएका हुन् । अहिले परिस्थिति अनुकूल नभएपछि तनहुँका काँग्रेसी नेता तथा प्रदेश सभासद ध्रुव वाग्लेको फेरो समाएर ३ नम्बर अर्थात बाग्मती प्रदेश प्रमुखका रुपमा चितवन सरुवा भएको बताइन्छ ।

अर्का डिआइजी सीपी गौतमलाई २ नम्बर प्रदेश,बर्दिवासबाट हेडक्वार्टरको कार्य विभागअन्तर्गत सीमा सुरक्षा हेर्ने गरी ल्याइएको छ । सशस्त्रभित्र उनले आफूलाई राष्ट्रपति विद्यादेवी भण्डारीको नातामा भाइ भनेर चिनाउने गरेका छन् ।

सुविधासम्पन्न ठाउँमा सँधै अवसर पाउनेमा अधिकांश एकाउण्टेण्टहरु देखिएका छन् । उनीहरुको पद र हैसियतभन्दा बढी अकुत सम्पत्ति देखिन थालेको बताइन्छ । तीन बर्षदेखि हेडक्वार्टरमै रहेका गणेश मल्ललाई त्यहाँको सबै लेखा हेर्ने जिम्मेवारी दिइएको छ ।

पारिवारिक रुपमा खनालसँग नजिक रहेका मल्लकी श्रीमती भने च्यारिटीको नाममा विभिन्न कार्यक्रम गर्दै हिँड्छिन् । श्रीमतीको संस्था सिलाष्मा फाउण्डेशनको खर्च सबै उनै एकाउण्टेण्ट मल्लले उपलब्ध गराउनुले पनि एकाउण्टेण्टहरुको हैसियत प्रष्ट हुने स्रोतले बताएको छ । मल्लकी श्रीमती सिलाष्मा हमाल पूर्वडान्सर हुन् ।

एकाउण्टेण्टको घरको बैठक कोठामा राखिएको सोफाको भाउ सुन्दा पनि सबै छक्क पर्ने स्रोतले दाबी गरेको छ । उनको घरको सोफा मात्रै चार लाख रुपैयाँमा किनिएको र पछि त्यस्तै खालको सोफा उनले प्रमुखको घरमा समेत व्यवस्था गरिदिएको बताइन्छ । भन्नलाई मल्लकी श्रीमती खनालकी श्रीमतीको साथी हो पनि भन्ने गरिएको छ । आइजी पत्नी पारिवारिक कारणले अमेरिका गइरहनुपर्ने हुँदा उनै साथीले घरको रेखदेखमा ध्यान पुर्याउँदै आएको बताइन्छ ।

सिलाष्मा फाउण्डेशनले गत भदौमा काठमाडौंका १० जना महिलालाई व्युटिसियन तालिम दिएको थियो । तालिमको समापन भव्य तरिकाले सम्पन्न गरिएको थियो । ती सबै खर्च कहाँबाट आयो त्यो खुलेको छैन ।

टिप्पणीहरू