एमालेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रचण्ड निर्देशन

एमालेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रचण्ड निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले एमाले गणतन्त्र र संविधानविरोधी कित्तामा उभिएकाले प्रतिवाद गर्न निर्देशन दिनुभएको हो ।

एमाले गणतन्त्र,संघीयता, धर्मनिरपेक्षताविरुद्ध लागेकाले आन्दोलनका उपलब्धिको रक्षा गर्न अबको डेढ वर्ष जनतामा जान अध्यक्ष प्रचण्डले कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । आफूहरु जनताको वीचमा जाँदा एमालेजस्तो जाली,फटाहा पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने उहाँको भनाइ छ ।

प्रचण्डले आफ्ना कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको भन्दै त्यसो गरे देशभर प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो । मुलुक,संविधान र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने उहाँको भनाइ छ ।

तत्कालीन नेकपाभित्रको अन्तरविरोधबारे कार्यकर्तालाई प्रष्ट पार्दै प्रचण्डले केपी ओलीले छलकपटको नीति लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको पटकपटक दोहोर्याउनुभयो । ‘मैले पेश गरेको डकुमेन्ट भनेको बमवार्ड द हेडक्वार्टर’ हो । जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेड्क्वार्टर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ’, उहाँले भन्नुभयो ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि प्रचण्डले बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुशी भएको उहाँको भनाइ छ ।

टिप्पणीहरू