सीता भण्डारीको दुखद मरणः डिजिटल फरेन्सिकले पनि आत्महत्या ठहर्यायो

सीता भण्डारीको दुखद मरणः डिजिटल फरेन्सिकले पनि आत्महत्या ठहर्यायो

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भदौ १९ गते एक महिलाको शंकास्पद मृत्यु भयो । माइती पक्षले छोरी सीताको हत्या भएको बताउँदै आए पनि घटना फेरि एकपटक फरक मोडमा पुगेको छ । पोष्टमार्टम रिपोर्टदेखि नै चुकेको माइती पक्षको दाबी प्राविधिक परीक्षणमा समेत पछाडि परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हिजो सार्वजनिक गरेको विज्ञप्तिमा मृतकको हत्या नभई आत्महत्या भएको उल्लेख छ । यसअघि पनि भण्डारीले आत्महत्या गरेको बताउँदै आएको प्रहरीले हिजो मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा गरिएको प्रतिवेदन सावर्जनिक गरेको हो । प्रतिवेदनअनुसार उनले मोबाइलको नोट प्याडमा मृत्युअघि सुसाइड नोट लेखेको पाइएको छ ।प्रतिवेदनमा प्रहरीले भनेको छ, ‘पोष्टमार्टम रिपोर्टमा नै झुण्डिएर मृत्यु भएको देखिए पनि माइती पक्षको जाहेरीका आधारमा गरिएको अनुसन्धानमा घटनाको २६ दिनपछि सुसाइड नोट फेला परेको हो ।’ सुसाइड नोट भदौ २० गते बिहान १२ बजेर १७ मीनेट जाँदा लेखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसो त भदौ १९ गते मृत्यु भएको बताउँदै आए पनि रिपोर्टमा भने २० गते बिहान करिब साढे ४ बजेको समयमा शव फेला परेको प्रहरीले जनाएको छ । सीताको निधन भएको २७ औँ दिनसम्म भइसक्दा पनि शव उठ्न सकेको छैन । आज जनआस्थासँग कुराकानी गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक मदन कुँवरले घटनाको प्रारम्भिक अनुसन्धान लगभग सकिएको बताउनुभएको छ ।

मृतकको मोबाइलको नोट प्याडमा भेट्टाएको आत्महत्या पत्रमा लेखिएको छ ‘…मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने हजुरहरुकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो,सकिन बाँच्दिन ।’

माइती पक्षले भने मोबाइलको सुसाइड नोट विश्वासयोग्य नभएको बताएको छ । प्रहरीले जारी गरेको विज्ञप्ति र घटनाको प्रकृति नमिलेको बताउँदै घटना थप शंकास्पद मोडमा पुगेको बताइएको छ ।

टिप्पणीहरू