बढाइएको भाडामा अवरोध भए प्रतिकार गर्ने व्यवसायीहरुको चेतावनी
यातायात व्यवसायीहरुले हिजोबाट आफूखुसी भाडा बढाएका छन् । नेपाल सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरे पनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको र प्रहरीले पुरानै दरमा भाडा लिनुपर्ने भनेपछि व्यवसायीहरुले आन्दोलनको तयारी गरेका हुन् ।
व्यवसायीहरुले सवारी साधनको ढोकामा नयाँ भाडादर टाँसेर मनोमानी ढंगले चर्को भाडा असुलेको आरोपमा हिजो प्रहरीले केही सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । लगत्तै व्यवसायीहरुले नयाँ भाडा असुल्न नदिए यातायात ठप्प पार्नेसम्मको चेतावनी दिँदै आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
उनीहरुले आज काठमाडौं उपत्यकाका १२ वटा मुख्य चोकहरु कलंकी, बालाजु, चक्रपथ, थानकोट, चाबहिल, तिनकुने, कोटेश्वरलगायतका स्थानमा एकतर्फी रुपमा बढाइएको भाडा कार्यान्वयन गराउन सार्वजनिक यातायात महासंघका प्रतिनिधिहरु उपस्थित हुने बताएका छन् ।
आफूहरुले त्यसो गर्दा प्रहरीले हस्तक्षप गरेमा प्रतिकारका साथै दशैं अगाडि सम्पूर्ण यातायात ठप्प बनाउने महासंघका अध्यक्ष होमप्रसाद अधिकारिले बताएका छन् । व्यवसायीहरुले भाडा वृद्धिलाई लिएर महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्न लागिएको महासचिव भरत नेपालले बताएका छन् ।
टिप्पणीहरू