एमालेले थाल्यो समूहगत छलफल

एमालेले थाल्यो समूहगत छलफल

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा प्रस्तुत तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल शुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो ।

१० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल शुरु गरिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । जसमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका छन् । प्रस्तुत प्रतिवेदनहरुमाथि प्रतिनिधिहरुले उठाएका प्रश्नको भोली अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले जवाफ दिएपछि महाधिवेशन समापन हुनेछ ।

१० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

टिप्पणीहरू