​एकीकरणको साँचो

दुई वामपन्थी दल एमाले र माओवादी एकीकरणको तरखरमा छन् । मिल्ने मनशाय दुवै तर्फबाट व्यक्त भएको छ । त्यसमा कुनै समस्या छैन । समस्या के भने एकीकरण अझै भएको छैन । एकीकरण गर्ने भनिएको छ तर एकीकरण भएको छैन । पहिले त चुनावअघि नै एकीकरण गर्ने कुरा थियो । भएन । त्यसपछि चुनावपछि गर्ने भनियो । चुनाव सकियो तर पनि एकीकरणको काम सकिएन । 

अब यो एकीकरण किन भएन भनेर बुझिहेर्दा थाहा भयो, यसको मुख्य कारण त उपेन्द्र यादव पो रहेछन् । उपेन्द्र यादव अर्थात् संघीय समाजवादी फोरमका अध्यक्ष । पार्टी एकीकरण गरौं कि नगरौं भनेर एमाले र माओवादी दुवै पार्टीका अध्यक्षहरू उपेन्द्र यादवलाई सोध्न गइरहेका रहेछन् । 
दुवै पार्टीले उपेन्द्र यादवसँग सोध्न त सोधे, तर उहाँले जवाफ भने दिइरहनुभएको छैन । जसले गर्दा पार्टी एकीकरण अन्योलमा परेको छ । अब उपेन्द्र यादवले कस्तो जवाफ दिने हो, एकीकरण त्यसैमा भर पर्छ । 

वास्तवमा यो सबै चुनावले ल्याएको नतिजा हो । चुनावअघि नै एकीकरण गरेको भए यस्तो हुने थिएन । तर चुनावले स्थिति नै यस्तो ल्याइदियो कि एमाले–माओवादी एकीकरणको चाबी नै उपेन्द्र यादवको हातमा गइदियो । 

अब हेरौँ, फोरम अध्यक्षले एमाले–माओवादी एकीकरण गरिदेलान् कि तोडफोड गरिदेलान् !   

टिप्पणीहरू