दशैंको मुखमा सीमापारि स्याउ कुहियो,कपडा थन्कियो

दशैंको मुखमा सीमापारि स्याउ कुहियो,कपडा थन्कियो

नेपालमा यो वर्ष दशैं र जाडोयाम एकैपटक शुरु हुने लक्षण देखिएको छ । पोहोरको तुलनामा कोरोना महामारीको जोखिम हुँदाहुँदै पनि यो वर्ष बजार केही खुलेको छ । सर्वसाधारण दशैं र जाडोको सामान जोहोमा लागेका छन् । तर,चीनसँग जोडिएको सीमा नाका रसुवागढी र तातोपानीमा उताका गाडीले प्रवेश नपाउँदा व्यवसायी,मजदुर र सर्वसाधारण सबै अप्ठेरोमा परेका छन् ।

नेपाल सरकारले यसबीच नयाँ नीति जारी गरेको पनि देखिँदैन । तर, उताबाट आएका सामान बोकेका सवारी साधन दिनहुँ तोकिएको संख्यामा मात्र नेपाल भित्रिँदा सरकारी राजश्वमा मात्रै होइन, बजारमा समेत चर्को असर देखिएको छ । एकातिर सामान महँगिएको छ भने अर्कोतिर चीनबाट मगाइएका सामान बिग्रेका र खाद्यान्न र फलफूल कुहिएका कारण व्यवसायीहरुले टाउकोमा हात राख्न थालेका छन् ।

दिनको ९ वटा चिनियाँ र ९ चिनियाँ ट्रक मात्र भित्रिन पाउने नेपालको नियमका कारण अहिले चिनियाँ सीमा क्षेत्रमा सामान बोकेका सवारी साधनको ताँती देखिन्छ । केरुङ र सिगात्सेमा पाँच सय वटा ट्रक सामान लोड गरेर बसेको हप्तौं भइसकेको छ । तर नेपाल सरकारको भन्सार कार्यालयलाई राजश्व नै नचाहिएको झैँ गरेर नेपाल छिर्ने मालवाहक कन्टेनरमा कोटा लगाइनुलाई सबैले अचम्म मानेका छन् ।

सरकारी अधिकारीहरुले भने चिनियाँ भन्सार र अध्यागमनले कोटा तोकेको आरोप लगाएको छ । अहिलेको बेलामा न्यानो कपडा, खाद्यान्न,फलफूल धेरै ल्याउने समय हो । दशैं आउन एक साता पनि बाँकी नरहेको अवस्थामा अब कहिले भन्सार क्लियर गर्ने ? अनि कहिले सामान ल्याएर देशभर पुर्याउने ? ‘सरकारको पोलिसी पो चेञ्ज भएको हो कि ?,’ एक जना व्यापारीले सोधेका छन् ।

धेरै दिनसम्म गाडीलाई भन्सारमा छिर्न नदिँदा चीनबाट ल्याइएको स्याउ कुहिएर फालेको एउटा भिडियो जनआस्थाले फेला पारेको छ । अरु धेरै सामान कन्टेनरमा नै बिग्रने अवस्थामा पुगेको बताइन्छ ।

यता,भन्सार क्षेत्रमा श्रमिकहरु पर्याप्त सवारी साधन नआउँदा काम नपाएर झोक्राई बसेका छन् । दशैं अगाडि धेरै काम गरेर रकमको जोहो गर्नुपर्ने उनीहरु पनि निराश भएका छन् । त्यसैगरी ती सामान राजधानी लगायतका जिल्लामा पुर्याउने चालक, सहचालक र सामान बोक्ने श्रमिकहरु पनि काम नपाएपछि बिचल्लीमा परेका छन् ।

सीमा पारि सामान कुहिनाले व्यापारीको योजना चौपट भएको छ । बजारमा किनेर खानुपर्ने अवस्थामा रहेका सर्वसाधारण सामानको अभावमा महँगो मूल्य तिर्न बाध्य छन् । सरकारी निकाय धेरै गाडी क्लियर गरेर सामान भित्र्याउनेतर्फ मौनता साँधेर बस्नुले हाम्रो आयात निर्यात व्यापारमा सरकारी संयन्त्रको असली रुप समेत अहिले रसुवागढी र तातोपानी नाकामा देखिएको बताइन्छ ।

टिप्पणीहरू