​समयक्रममा खुल्दै जाला

गत बिहीबारको क्याबिनेट बैठकमा सबै मन्त्री सचिवबाट आफूहरू अपमानित भएको कुरा राख्दै मुख्यसचिव लोकदर्शन रेग्मीमाथि खनिए । शहरी विकासमन्त्री दिलनाथ गिरी मौन थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सोधे, ‘दिलनाथजी, तपाईंको के छ ?’ उनले पनि अरू मन्त्रीझैं सचिवबाट सहयोग नपाएको कुरा राखे । ‘म पनि अछुतो छैन ।’ त्यहाँका सचिव दीपेन्द्रनाथ शर्मा दुई वर्षभन्दा बढी समयदेखि त्यही मन्त्रालयमा छन् । पहिला शहरी विभागकै डिजी रहिसकेका र शहरी विकास विषयमै विद्यावारिधि गरी हाल ऊर्जा मन्त्रालयमा रहेका जनकपुरवासी रमेशप्रसाद सिंहलाई ल्याउन सके उत्तम हुने कुरा पनि उनैले चुहाए । मनको बह पोख्दै थिए, कमल थापा पड्किन थालिहाले । जुहारी चल्यो । र, त्यसको २४ घण्टा नबित्दै पार्टी प्रवक्ता भुवन पाठकको हस्ताक्षरित १३ शब्दे विज्ञप्ति निकालेर उनको मन्त्री पद खाइदिए । र, त्यहाँ विक्रम थापा, जयन्त चन्दहरूलाई नपठाई अस्ति सोमबार कमल थापा आफैं पदबहाल भए । 

यसरी ४८ वर्षदेखिको राजनीतिक सारथि दिलनाथलाई गलहत्याउनुअघि न विधि प्रक्रियाअनुसार स्पष्टीकरण सोध्ने मौका दिइयो न त केन्द्रीय कमिटीमै छलफल चलाइयो । आफूमाथि कमल थापा तानाशाही ढंगले प्रस्तुत भएकोप्रति दुःखमनाउ गर्दै दिलनाथ भन्छन्, ‘क्याबिनेटको विषय त बहाना मात्रै हो । त्यहाँ मलाई हटाएर राप्रपाकै अरू मन्त्रीलाई नपठाई किन आफैं गए ? भित्री रहस्य समयक्रमसँगै खुल्दै जाला ।’ दिलनाथको एउटै माग छ, ‘भ्रष्टाचार नै गरेको रहेछु भने कारबाही होस्, यदि निर्दाेष छु भने केन्द्रीय समितिमा यस विषयमा गम्भीर छलफल गरियोस् । कमल थापा र दीपेन्द्रनाथ शर्माबीचको ‘रहस्यमय सम्बन्ध’ बारे खोजी गर्दै कमल थापामाथि अविलम्ब कारबाही गर्नसमेत उनले केन्द्रीय समितिसँग माग राखेका छन् । 

सचिव शर्माले भने आफूले मन्त्री दिलनाथ गिरीलाई असहयोग नगरेको बताए । जनआस्थासँग भने, ‘मन्त्रीका मनमा मप्रति यति धेरै गुनासा रहेछन् । क्याबिनेट बैठकमा कुरा उठेपछि मात्र थाहा पाएँ ।’ 

टिप्पणीहरू