सार्वजनिक यातायातमा भाडा दोब्बर,यात्रु तेब्बर

सार्वजनिक यातायातमा भाडा दोब्बर,यात्रु तेब्बर

कोरोना महामारीको जोखिम रहिरहँदा पनि सार्वजनिक यातायातमा यात्रुको भीड चर्को छ । सार्वजनिक यातायातमा देखिएको भीडले महामारीको जोखिमलाई बेवास्ता गरेको प्रष्ट हुन्छ । बिहीबार दिउँसो २ बजेको समयमा बानेश्वरबाट भक्तपुरको सूर्यविनायक जानको निम्ति रामबहादुर कार्की सवारी साधन कुरिरहनुभएको थियो ।

“सार्वजनिक यातायातमा यात्रा गर्नेमध्ये अधिकांशले मास्कसमेत लगाउँदैनन् । स्यानिटाइजर र सरसफाइ त निकै परको कुरा ।”

तर, सबै गाडी भरिभराउ भएर आइरहेका थिए । अलि होलो गाडीको आशमा धेरैबेर प्रतिक्षा गर्नुभयो । तर अन्ततः उहाँ उभिएरै जान बाध्य हुनुभयो । सार्वजनिक यातायातमा जसरी पनि यात्रा गर्नु यात्रुहरुको बाध्यता नै हो । ठूलो ओहोदाका सरकारी कर्मचारीहरु सार्वजनिक यातायातमा सामान्यतयाः यात्रा गर्दैनन् । त्यो कारण पनि उनीहरुलाई सार्वजनिक यातायातमा रहेको बेथितिबारे जानकारी हुँदैन ।

झन् उच्च ओहोदामा बस्नेलाई सार्वजनिक यातायातमा के भइरहेको छ भन्ने कुरोको वास्ता हुने कुरो पनि भएन । तर सास्ती भने यात्रुहरुले दिनहुँ खेपिरहनु परेको छ । सार्वजनिक यातायातमा रहेको बेथिति वर्षौंदेखि जस्ताको तस्तै छ । केही विकल्प नभएपछि सर्वसाधारणले नचाहेर पनि कोचिनै पर्ने बाध्यता छ । ठेलमठेलमा कतै खुट्टा कुल्चिदिन्छन् भने कतै हात च्यापिन्छ ।

बिहीबार मात्र उपत्यकामा प्रशासनले सार्वजनिक यातायात सञ्चालनको हकसम्बन्धी सूचना सार्वजनिक गरेको छ । सूचनामा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने भनिएको छ । जुन व्यवहारमा थोरै पनि लागू भएको छैन ।

सार्वजनिक बसका ढोकासम्म यात्रु झुण्डिएका हुन्छन् तर पनि सीट खाली भन्दै सहचालकले यात्रु कोचिरहेका हुन्छन् । गुन्द्रुक खाँदेभन्दा बेस्सरी यात्रु खाँद्दा सास फेर्न हम्मेहम्मे पर्छ । त्यसमा पनि उनीहरुमाथि बस स्टपमा बस कुरेर बसेका सबैलाई कोच्न खोजेको आरोप लाग्ने गरेको छ ।

बस,माइक्रोबस र सफा ट्याम्पोमा तेब्बर यात्रु कोचिन्छ । यात्रु तेब्बर हाल्ने,भाडा डोब्बर उठाउने रुटिन नै जस्तो छ । विद्यार्थी,ज्येष्ठ नागरिक र अपांगलाई दिनुपर्ने छुटसमेत दिइएको पाइन्न । तर पनि यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरीबाट अनुगमन भएको पाइन्न ।

अहिलेको अवस्थामा सार्वजनिक यातायातमा यात्रा गर्नेमध्ये अधिकांशले मास्कसमेत लगाउँदैनन् । स्यानिटाइजर र सरसफाइ निकै परको कुरा भएको छ । सार्वजनिक सवारीमा अझै पनि सुरक्षित भएर हिँड्नसक्ने अवस्था छैन,त्यसमा पनि अहिलेको महामारीमा ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिनहुँ अनुगमन भैरहेको दाबी गर्नुभएको छ । शर्माले सार्वजनिक यातायातमा नजर राख्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको र भक्तपुरको जगातीमा सहायता कक्षसमेत राखिएको बताउनुभयो ।

टिप्पणीहरू