एमालेमा मलाई नै अस्ति बोल्न दिएनन्

एमालेमा मलाई नै अस्ति बोल्न दिएनन्

– रामचन्द्र मण्डल, एमाले नेता

तुल्सीलाल स्मृति प्रतिष्ठानमा गत शुक्रवार र शनिवार चलेको बैठकमा रघुवीर महासेठले बोल्न नदिएको आरोप लगाएर चर्चामा छन्, रामचन्द्र मण्डल । ०४६ सालदेखि गाउँ कमिटीको सचिव हुँदै ०५४ सालदेखि ०५९ सालसम्म शिक्षण पेशा अँगाल्दा पनि एमालेको राजनीति छाडेनन् । जनयुद्ध उत्कर्षमा पुग्दा शिक्षण पेशा छाडेर माओवादी बने । संविधानसभा चुनाव ०६४ मा ८ सय मतान्तर र ०७० सालमा ११ सय मतान्तरले पराजित भएका उनले ०७४ मा भने प्रदेश सभामा विजय हासिल गरे तर नेकपा फुट्दा माओवादी छाडेर एमाले रोजे, जसको कारण सांसद पद गुमाए । माओवादीमा हुँदा दलको नेता, पोलिटब्युरो सदस्य थिए, अहिले एमाले केन्द्रीय सदस्यमा सीमित छन् ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा तपाईंंहरूलाई बोल्न दिइएन र स्थायी कमिटी सदस्य रघुवीर महासेठले हस्तक्षेप गरेको कुरा उठिरहेको छ । त्यहाँ भएको के हो ?

– प्रदेश २ बाट केन्द्रीय समितिका १८ जना सदस्य उपस्थित थियौं । सर्वसम्मत लिडर चयन भएपछि मैले राजनीतिक, संगठनात्मक, विधानमाथि सुझावको प्रस्ताव तयार गरेँ । सबै साथी बसेर टिपोट र लिखत तयार भइसकेको अवस्थामा रघुवीर महासेठले हस्तक्षेप गर्नुभयो । ‘यो बोल्नु पर्छ, यो बोल्नु हुँदैन’, यी–यी विषयवस्तु काटिदिनुहोस्, यी विषयवस्तु मात्र राख्नुहोस् भनेपछि गरमागरम बहस भयो । मैले, ‘यो मेरो पनि केन्द्रीय कमिटी हो । मेरालागि जनवाद भनेकै यही ठाउँ हो । मेरो मनमा लागेका कुरा यही कमिटीमा उठाउने हो, तल्लो कमिटीमा उठाउन पाउँदिन, मैले राख्ने यही कमिटीमा हो । तपार्इं इञ्चार्ज जे–जे गर्नुपर्छ गर्नुहोस् भन्ने जवाफ फर्काएँ ।’

तपाईंले त्यहाँ राख्न खोजेको र रघुवीरले हस्तक्षेप गर्नुपरेको वा उहाँको विमति रहेको कुराचाहिँ के हो ?

– दशबुँदे र जेठ २ मा फर्किने कुरा सिद्धान्ततः भयो तर व्यवहारमा देखिएन । जेठ २ ब्युँतिएपछि जो माओवादी केन्द्रका साथीहरू एमालेमा फर्किएका छन्, उनीहरू निषेधित हुने भए । जबकि माक्र्सवादी विचार र राजनीतिमा निषेध पूर्णतया बर्जित छ । एमालेको झैं माओवादी केन्द्रको पनि पदाधिकारी र जिम्मेवारी ब्यँुतिएको हो, उसैगरी । पुरानो आधारमा, पुरानोे एकताले समस्या मात्र निम्ताउँछ । एकता, संघर्ष र रूपान्तरणका हिसाबले नयाँ एकता कायम गर्नुपर्छ र लिडर भनेको समस्या निम्ताउने होइन, समस्याको सामाधान दिने हुनुपर्छ । अहिले कम्युनिष्ट आन्दोलनमा पेटी बुर्जुवावादी चिन्तन देखिएको छ, जसले पद प्रतिष्ठाको आकांक्षा बढी झल्काउँछ । माओवादी केन्द्रबाट एमालेमा आउनेको संख्या कम भएका कारण चुनावी प्रतिस्पर्धामा अलि गाह्रै हुन्छ । त्यही कारण यो अधिवेशनलाई एकताको अधिवेशनको रूपमा लैजाऔँ भन्ने मेरो राय थियो । रघुवीरले यी दुवै विषय हटाउन भन्नुभयो । मैले हटाउन नमिल्ने अडान लिएँ । मलाई लागेको कुरा राख्न पाउनुपर्छ भन्दा उहाँले मलाई बोल्न नदिई कम्युनिष्ट पार्टीभन्दा बाहिरको बद्रि मैनालीलाई चुन्नुभयो । उहाँ चुरेभावरबाट आउनुभएको, कम्युनिष्टको टर्मिनोलोजी पनि थाहा नभएको व्यक्ति । मलाई बोल्न नदिएर बद्रिलाई बोल्न दिएपछि मैले आफ्नो गुनासो अध्यक्ष कमरेडसामु राखँे । मलाई टिम लिडर चुनेर पनि बोल्न दिइएन, अधिनायकवादी शैलीमा हट्नुप¥यो । म असाध्यै दुःखी छु भन्ने कुरा राखेँ । हल्का साथीहरूको सहानुभूति रह्यो ।

तपाईं पूर्वमाओवादी पृष्ठभूमिबाट आउनुभएकै कारण त्यस्तो व्यवहार खेप्नुपरेको वा निषेध गरिएको हो कि ?

– अध्यक्षले सम्बोधनका क्रममा प्राविधिक रूपमा हामी एमाले वा माओवादी भए पनि यो नेकपाकै निरन्तरता हो भन्ने कुरा राख्नुभएको थियो । १० बुँदेको विषयवस्तु उठान गर्दा अरूलाई पनि चोट पर्छ । सबैलाई पन्छाएर एउटा सानो टिमको मात्र पार्टी हामी बनाउँदैनौं भन्नुभएको हो ।

माओवादी छाडेर आउनुभएको (तपाईं)को भागमा धनुषा इञ्चार्जको जिम्मेवारी परेको, एमालेकै केहीलाई मन परेको छैन । त्यही कारण तपाईंमाथि निषेध गरिएको हो ?

– जिम्मेवारीमा कोही आजीवन वा सदैव रहने होइन । नेतृत्व भनेको पोजिसन होइन, एक्सन हो । भन्छन् नि दुश्मनले ढुंगाले हान्यो भने पनि उसलाई फूलले जवाफ दिनुपर्छ । म माओवादीमा पनि दलको नेता थिएँ । पोलिटव्युरो सदस्य भएर काम गरें, धनुषा जिल्ला इञ्चार्ज भएको समय ६ कठ्ठा जग्गामध्ये १४ धुरमा २ तले पार्टीको भवन बनाए । मातृका यादव, महादेव यादव, श्रवण यादव, श्रवणका छोरा त्यहीँको मेयर । कसैले एक बोरा सिमेन्ट सहयोग गरेनन् । मातृकाहरू पार्टीको भवन बनाउन दिनु हुँदैन भनेर लागेका थिए । पार्टीको भवन बनाएँ भने मेरो करिअर बन्छ भनेर विरोध गर्दै हिँड्थे । तथापि, शिक्षक साथीहरूको सहयोगमा भवन ठड्याएरै छाडें । त्यहाँका १ सय १५ जना शहीद परिवारका छोराछोरीलाई मेरै पहलमा पढाइएको छ । म बोलेर होइन, कर्म गरेर देखाउने मान्छे हो ।

माओवादी केन्द्र छाडेर आएका प्रभु साहले अस्ति ८ बुँदे असन्तुष्टि पोख्नुभयो । पूर्वमाओवादीहरू एमालेभित्र बढी पेलानमा छन् । यसो हुँदा माओवादी छाडेर हिँडेकोमा कत्तिको पश्चाताप लाग्छ ?

– कमरेड प्रचण्डले अन्यायमा परेका साथीहरू अन्यायमै परिरहने, पद, प्रतिष्ठाकै वरपर घुम्नेहरू मालामाल बनिरहने स्थिति बनाइदिनुभयो । वैद्य, बाबुराम भट्टराईलगायत एकपछि अर्काे १४ जना केन्द्रीय कमिटीका साथीहरू बाहिरिए । हामी पनि यता आयौं । यहाँ झन् समस्या रहेछन् । प्रवृत्तिगत टकराव, सामाजिक अन्तरविरोध, पार्टीगत जटिलता के–के । तर, संघर्षबाटै सत्यको अन्वेषण र स्थापित गर्ने मनशायका कारण हामी अझै निरास भएका छैनौं ।

तपाईं शिक्षक पृष्ठभूमिबाट आउनुभएको, बौद्धिक व्यक्ति, तपाईंकै प्र्रदेशभित्रका पूर्व एमाले त्यहाँ र सो पार्टीमा टिक्न नसकेर अहिले लाखापाखा लागेको अवस्था छ । त्यहाँ टिक्न कत्तिको सहज देख्नुहुन्छ ?

– पद, प्रतिष्ठालाई केन्द्र बनायाँै भने टिक्न गाह्रो हुन्छ । मानसम्मान भएन भने मान्छे त्यहाँ बस्दैन वा त निस्क्रिय हुन्छ । पार्टीभित्र अन्तरविरोध हुन्छ, त्यो नै पार्टीको जीवन हो । शत्रुता र अन्तरविरोध एउटै विषय होइन । शत्रुता वर्ग दुश्मन हो, अन्तरविरोधचाहिँ पार्टीको अन्तरजीवनमा चलिरहने प्रक्रिया हो । यसलाई फाइट टु फिनिस भन्दा पनि फाइट टु गेनतिर लैजानुपर्छ । अहिले कम्युनिष्ट आन्दोलनमा फाइट टु फिनिस देखिएको छ ।

केपी ओलीले नेकपा एमाले र सिंगो कम्युनिष्ट आन्दोलनलाई कहाँ पु¥याउनुहोला ?

– लिडरसिप दूरदर्शी हुनुपर्छ । आफ्नो दूरदर्शितालाई रियालिटीमा कसरी कन्भर्ट गर्ने ? एक कालमा प्रचण्डले युद्धको आँटै गर्नुभएको हो । पछाडि उहाँमा प्रतिक्रान्तिको तरंग देखा प¥यो । कम्युनिष्ट आन्दोलनलाई बिघटन गर्ने काम भयो । ओलीले सिके राउत र विप्लवहरूलाई शान्तिप्रक्रियामा ल्याउनुभयो । कम्युनिष्ट भएपछि अलि दृढ संकल्प जरुरी छ तर उहाँमा पुँजीवादी संस्कार बढी देखियो ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी रोज्ने सबैभन्दा धेरै त तपाईंकै प्रदेशका छन् । त्यहाँ नेतृत्वले पुँजीवादीलाई बोकेको, कम्युनिष्ट आन्दोलनमै सिंगो जीवन व्यतित गरेकाहरूलाई उपेक्षा गरेको भन्दै अहिले पुराना कम्युनिष्टहरू रामचन्द्र झा, यदुवंश झा, रत्नेश्वर गोइतजस्ता नेताले लाखापाखा लाग्नुपर्ने स्थिति छ ? भोलि तपाईंहरूको त्यही स्थिति आउने त होइन ?

– दलाल, नोकरशाही र पुँजीवादी प्रवृत्ति हाबी छ हाम्रो पार्टीभित्र । पुँजीवादीले पुँजीवादी श्रेष्ठता कायम गर्न खोज्छन्, समाजवादीले श्रेष्ठता कायम गर्न खोज्छन् । दुबै अन्तरसंघर्ष भिषण हुन्छ, लामै अन्तरसंघर्ष हुन्छ । थोरै पनि कम्युनिष्ट स्कुलिङ भएका कार्यकर्तामा दलाल, नोकरशाही, पुँजीवादी प्रवृत्तिप्रति आकर्षण छैन । रामचन्द्र झा कम्युनिष्ट आन्दोलनमा खारिएको मान्छे, एमाले निर्माणमा उहाँकै ठूलो योगदान छ । यदुवंश झा, रत्नेश्वर गोइतहरूको ठूलो योगदान छ, कम्युनिष्ट आन्दोलनमा । नेतृत्वले यो कुरालाई रियलाइज गर्नुपर्छ । लक्ष्य, गन्तव्य क्लियर भएको खण्डमा राम्रो परिणाम ल्याउन सकिन्छ । कार्यदिशा निर्माण भइसकेपछि परिणाम ल्याउन सकिन्छ, कार्यकर्ता हतियार हुन् ।

सात प्रदेशमध्ये एकीकृत समाजवादी सबैभन्दा बलियो, प्रदेश २ मै देखियो । नेकपा एमाले किन कमजोर ?

– स्थानीय, प्रदेश र केन्द्रसम्म जोड्ने हो भने ३० प्रतिशतभन्दा बढी हामीसँग थियो । त्यतिखेर मधेशवादीको ह्विम आएको थियो । आन्दोलनको बाढी आएपछि त्यसले बगाउँछ नै ।

आगामी निर्वाचनमा कस्तो स्थितिको आकलन गर्नुभएको छ सो प्रदेशबाट ?

– अहिले नै आकार ग्रहण गरिसकेको छैन । कम्युनिष्टहरू तीन टुक्रामा विभाजित भएको अवस्था छ । तल्लो तहका कर्मचारी फुटको पक्षमा छैनन् । बाबुराम भट्टराई ४० हजार मतान्तरले जित्नुभएको मान्छे, पार्टी फोड्दा कांग्रेसको वैशाखी टेक्नुप¥यो । साहना प्रधान देशभर सबैभन्दा बढी मत ल्याएर जित्नुभएको, पार्टी फुटेर माले बनेको समयमा हार्नुभयो । विमलेन्द्र निधिले हात्तीछाप हुँदा हार्नुभयो । ०४८ सालमा कम्युनिष्ट पार्टी टुक्रा टुक्रा भएर हारे । पछि मानन्धर, जनमोर्चा एकीकृत भयो । एमाले बलियो हुँदै गयो । मूलधार जो बन्छ,त्यतै सेन्ट्रलाइज हुने सम्भावना बलियो छ ।

माओवादीसँग मोह भंग र एमालेप्रति मोह कसरी पैदा भयो ?

– शुरुमा एमालेमै थिएँ । त्यहाँ दलाल, नोकरशाहीपन हावी भयो । त्यही कारण बन्दुकको बलबाट सत्ता कब्जा गर्न सकिन्छ भन्ने लाग्यो र शिक्षण पेशा छाडेर माओवादीमा लागियो । चुनावी प्रक्रियामा गएपछि एमाले र माओवादीमा केही फरक देखिएन् । चुनावी व्यवस्थामा मूलधार नेकपा एमाले नै बन्ने भएपछि एमाले नै रोजेको हो । तर जनयु्द्धको इतिहास त कसैले मेटेर मेटिँदैन । राजनीतिमा लागेपछि व्यक्तिगत जीवन हुँदैन । सामूहिक जीवन । शिक्षक हुँदासम्म लाइफ स्टाइल एक खालको थियो । युद्धकाल,शान्तिकाल,सांसद हुँदै,अहिले सांसदबाट हटेपछि अर्कै खालको जीवन व्यतित गरिरहेको छु ।

माधव नेपाल खेमाबाट त्यहाँ पुगेका भीम रावल हुन् वा माओवादी छाडेर हिँडेका प्रभु साहहरू बैठकै छाडेर हिँड्नुपरेको छ । यसले नेतामा कुन तहको असन्तुष्टि रहेछ भन्ने प्रष्ट पार्दैन र ?

– संक्रमणकालीन अवस्था हो यो । पार्टी विभाजन र पार्टी एकता एकै समयमा भएको छ । यो समयमा अत्तालिएर काम हुँदैन । व्यवस्थापन गर्ने काम नेताको हो । नयाँ आधारमा नयाँ कार्ययोजनाका साथ अघि बढेको खण्डमा त्यसले निकास दिन्छ । मलाई नै अस्ति बोल्न दिएनन् । कतिपय साथीहरूले आइतबारको बैठकमा नजानुहोस् भनेका थिए तर म गएँ । पुँजीवादी र पेटीबुर्जुवा चिन्तन हटाउन जरुरी छ । तर प्रवृत्ति हट्न गाह्रो छ । माओले दश वर्ष सांष्कृतिक क्रान्ति गर्नुभयो । कालान्तरमा आफैं बहिष्कृत हुनुभयो ।

जीवनको १७ वर्ष बिताएको माओवादी पार्टी अहिले कत्तिको ‘मिस’ गर्नुहुन्छ ?

– मातृका यादव, मोहन वैद्य, विप्लव, लोकेन्द्र विष्ट, बाबुराम भट्टराई बाटो लाग्नुभयो । अहिले पार्टी विभाजन हुँदा एमालेतिरका एक जना पनि माओवादीतिर लागेका छैनन् तर माओवादीका २३ जना केन्द्रीय सदस्य एमालेतिर आएका छन् । कम्युनिष्ट आन्दोलन निरन्तर फुट गुटको शिकार भयो । फाइदा लिनेचाहिँ प्रतिक्रियावादीले नै हो । कम्युनिष्ट आन्दोलनका लागि प्रतिगामी तŒव भनेको काँग्रेस हो । गुट वा फुट दुबैलाई प्रतिक्रियावादीले उपयोग गर्दछ र फाइदा लिइरहेको छ ।

टिप्पणीहरू