कसैको नाम काटेर, देशलाई ढाँटेर

एमालेले प्रदेशसभातर्फको सूचीमा केही सामान्य हेरफेर गरेको छ । दुई नम्बर प्रदेशबाट शेख मोहम्मदको नाम हटाएर हसिना खातुनलाई राखिएको छ । सर्लाहीबाट रवीन्द्र बैठाको नाम थपिएको छ । दलितबाट पुरुष र मुस्लिममा रहेका पुरुषलाई हटाएर मुस्लिम महिला ल्याइएको छ ।

उता, एमाले स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओलीले हालको गतिरोध र कांग्रेसको गतिविधिलाई गठबन्धन टुटाउने खेलको रूपमा व्याख्या गरेका छन् । ‘फकाएर, तर्साएर हामी केसम्म गर्न सक्दारहेछौं हेर ! तिमीहरूले बढी सिट ल्याएर के भो !’ भन्दै अन्तर्राष्ट्रिय शक्तिले क्षमता प्रदर्शन गरेको उनको टिप्पणी थियो । बैठकमा सहभागी स्रोतका अनुसार ‘विदेशीको सबै खेललाई आफूले राम्ररी नियालेको ओलीको दाबी थियो । यसैबीच, कांग्रेसले सत्ता लम्ब्याउँदै गएपछि विदेश भ्रमण गरेर राज्यको सम्पत्ति सक्न कतिपय कर्मचारी लागिपरेको पनि देखिएको छ । क्याबिनेटको स्वीकृति नै नलिई सञ्चारमन्त्री मोहन बस्नेतले अर्थ मन्त्रालयको कार्यविधिमा भएको ‘सरकारको कोषबाट खर्च हुने गरी अनुगमन, निरीक्षण, अवलोकन भ्रमणका नाममा विदेश पठाउन नपाइने’ प्रावधानविपरीत सुरक्षा मुद्रण विकास समितिको रकम भ्रमणमा खर्च गरेका छन् ।

राम कार्की सञ्चारमन्त्री भएको बेला पछि झापाबाट चुनाव लड्ने योजनाअनुरूप राधा नामकी युवतीलाई त्यहाँ सदस्य नियुक्त गरेका थिए । त्यहाँ अझै एउटा सिट खाली छ । त्यसमा कार्यकारी निर्देशक विकल पौडेल छन् । उनै पौडेल मन्त्री, मन्त्राणी, सचिव र आफ्नो अधिकृत शिरीष उपाध्यायलाई लिएर ग्रिस र जर्मनीको भ्रमणमा गएका हुन् । यो वर्षलाई जम्मा डेढ करोड बजेट भएको यो समितिले भ्रमणमा १८ लाख खर्च गरेको छ । सहसचिव रामचन्द्र ढकालको नाम काटी उनलाई सोधभर्नाबापत अस्ट्रेलियाको कोटामा हालेर गएका मन्त्री स्वदेश फर्किए पनि पौडेलचाहिँ श्रीमती भेट्न भन्दै अमेरिकातर्फ हान्निएका छन् । १५ दिन उतै बसेर फर्कने योजनामा छन् ।

टिप्पणीहरू