आफ्नो सरकार ७३ दिनमै ढाल्न खोजेको ओलीको आरोप

आफ्नो सरकार ७३ दिनमै ढाल्न खोजेको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सरकार गठनको प्रारम्भदेखि नै आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाउनुभएको छ ।

आजदेखि शुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले आफू नेतृत्वको सरकार ढाल्न प्रचण्ड र नेपालले सरकार गठनको ७३ दिनदेखि नै षडयन्त्र गरेको आरोप लगाउनुभएको हो ।

ओलीले ७३ दिन नपुग्दै सरकार ढाल्न खोजेको आरोप लगाए पनि दुई वर्षसम्म सरकार परिवर्तन हुने संवैधानिक व्यवस्था छैन । संविधानमा निर्वाचनपछि गठन भएको सरकारलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था छ ।

ओलीपछि बोल्नुभएका स्थायी समिति सदस्य शंकर पोखरेलले समेत उक्त आरोपलाई थप पुष्टि गर्दै संवैधानिक व्यवस्थाबमोजिम २०७६ फागुनपछि उनीहरु सरकार परिवर्तनको रोडम्यापमा अघि बढेको बताउनुभएको छ ।

तर, ७३ दिनपछि नै सरकार परिवर्तनको निम्ति अघि बढेका भनिएका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताको हात ओलीले नै अघि बढाउनुभएको थियो ।

टिप्पणीहरू