भाटभटेनीमा अनुगमन टोलीले अनियमितता भेट्यो,५० हजार जरिवाना

भाटभटेनीमा अनुगमन टोलीले अनियमितता भेट्यो,५० हजार जरिवाना

भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटबाट उपभोक्ता ठगिएको नापतौल विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय,भक्तपुरको नेतृत्वमा नापतौल विभागको संयुक्त टोलीले हिजोदेखि थालेको बजार अनुगमनको क्रममा भाटभटेनीमा कैफियत देखिएको हो ।

भाटभटेनीमा अनुगमन क्रममा त्यहाँको दृश्य अर्कै देखिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो । जाँचको क्रममा त्यहाँ १५ वटा सामानमा अचाक्ली भाउ तोकेर बिक्रीवितरण गर्ने गरेको पाइएको केशरीले जानकारी गराउनुभएको छ ।

अनुगमन टोलीले पटक पटक बिल बिजक देखाउन आग्रह गरे पनि भाटभटेनी प्रशासनले देखाउन नमानेको टोलीको धारणा छ । लेबलिङ नगरिएका खाद्यवस्तुहरु पनि ठूलो परिमाणमा भेटिएको छ । सामान प्याकेजिङ गरेर मूल्य राखिएको तर तौल भने नतोकिएको अनुगमन टोलीले फेला पारेको हो ।

भाटभटेनीले बिक्रीवितरण गर्ने गरेको बोतलको पानीसमेत महँगो पाइएको छ । ३३ रुपियाँमा किनेको पानी ४५ रुपैयाँमा बेच्ने गरेको खुलेको छ । त्यस्तै १५ रुपैयाँमा किनेको साबुन २५ रुपैयाँमा बिक्री वितरण गरिएको बताइन्छ ।

टोलीले तरकारीमा समेत कम तौल र महँगो भाउ तोकेको पाएको छ । अनुगमन टोलीले भन्यो, ‘भाटभटेनीले चिनी,दाल र तेलमा २० प्रतिशतसम्म नाफा लिएको छ । अन्य सामानमा ३२ प्रतिशतसम्म नाफा राख्ने गरेको पाइयो ।’

उसले मूल्यसूची नराखेको,खरिद बिल देखाउन नसकेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही गर्ने अनुगमन टोलीले बताएको छ । भाटभटेनीलाई तत्काल ५० हजार रुपैयाँ जरिवाना तिराइएको बताइएको छ ।

दशैं र तिहार नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्यबृध्दि भएको उपभोक्ताहरुको गुनासोपछि बजार अनुगमन थालिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू