​नयाँ चलाउने, पुरानोलाई गलाउने

‘अस्पताल राजनीति’, अर्थात् विदेशतिरै बढी बस्ने एकजना धनाढ्यले पाँचतारे अस्पताल सञ्चालन गर्दैछन् । शहरमा खुलेका र चलेका अस्पताललाई सके ढोकाबाटै, नसके झ्यालबाट भए पनि ‘सिध्याउने’ खेती छ ।

उपेन्द्र महतोले भैँसेपाटीमा मेडिसिटी अस्पताल शुरु गरेका छन् । नयाँ अस्पताल चलाउनका लागि चलिरहेका पुराना अस्पताललाई सेक्नु या साख गिराउनै प¥यो । यही भएर माओवादीका शिवकुमार मण्डल मन्त्री रहेकै बेला आपूर्ति मन्त्रालयले पुराना अस्पताललाई जुत्ता व्यापारीलाई झैँ दुःख दिन थालेको छ । कुमार दाहाल महानिर्देशक रहेको आपूर्ति मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अहिले राजधानीमा सञ्चालित ६ अस्पतालविरुद्ध प्रहरीमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको भिड लाग्ने गरेका ग्रयाण्डी, नर्भिक, बयोधा, बिएण्डबी, न्युरो, बाँसबारी र इशान अस्पतालका फरक फरक मामिला उपभोक्ता हितविपरित भएको जिकिर गर्दै विभागले ती अस्पताललाई कारवाहीका लागि पत्राचार गरेको हो । यस्तो काम दशैँताका दरबारमार्गका जुत्ता पसलहरुमा पर्ने मूल्यभन्दा तेब्बरमा बेचिएका प्रमाणसहित कारवाही गरिएकै शैलीमा भइरहेको छ । राज्यले अस्पतालहरुको वर्गीकरण गरेको छैन ।

कुन अस्पतालमा कुन सेवाको कति मूल्य लिने भन्ने कुरा तोक्नुपर्ने हो, तर तोकिएको छैन । चिकित्सक सेवाअन्तर्गत परामर्श लिएको न्युनतम शुल्क पाँच सय भनिएको छ । तर, स्वास्थ्य सेवा सञ्चालन गर्ने निकायहरुले कुन सेवाबापत, कति रकम लिने भन्ने कुरा सरकारले नतोकिँदिदा अस्पतालहरुले आफूले दिँदै आएको सेवा, गुणस्तरीयता र सेवा विविधताका आधारमा सेवाग्राहीसँग शुल्क लिँदै आएका छन् । लिएको शुल्कको बिल काटेर, त्यो अभिलेखलाई कर प्रणालीभित्र समावेश गर्दै राज्यलाई आयकर पनि तिर्दै आएका छौं भन्छन् । तर, अहिले आपूर्ति विभागले क्षेत्राधिकार पनि मिचेर अस्पतालमा हात हालेको सम्बन्धित अस्पतालका सञ्चालकहरु बताउँछन् । निजी अस्पताललाई नियमन गर्ने, निर्देशन दिने र मूल्य निर्धारण गर्नेसम्मको अड्डा स्वास्थ्य मन्त्रालय र त्यसमातहतका निकाय हुन् ।

स्वास्थ्यमा शुल्क निर्धारण समिति पनि छ । उक्त समितिले हालसम्म निजी अस्पतालहरुका हकमा कुनै शुल्क निर्धारण गरेको छैन । राज्यको एउटा निकायले सरोकार राख्नुपर्ने ठाउँमा अर्को निकाय बलजफ्ती छिर्दा नाम चलेका अस्पतालहरुको साख त गिर्ने नै भयो, त्यसमाथि सरकारी वकिलहरुले ‘यसो गरिनु उचित होइन’ भन्ने राय दिँदादिँदै विभाग कारवाहीतर्फ अग्रसर हुनुका पछाडि नयाँ खुलेको अस्पतालले आफू चल्न अरुलाई सेकाइरहेको बुझ्न धेरै गाह्रो नपर्ने स्थिति छ ।

टिप्पणीहरू