राजधानीमै चिट चोर्नेलाई निरीक्षकको साथ

राजधानीमै चिट चोर्नेलाई निरीक्षकको साथ

ललितपुरको पाटनढोकास्थित पाटन क्याम्पसमा भइरहेको कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको परीक्षामा परीक्षार्थीहरुले खुल्लमखुल्ला चिट चोरेका छन् ।

भदौ ३१ गतेबाट शुरु भएको चौथो वर्ष,आठौं सत्र–२०७३ समूह र दोस्रो वर्ष,चौथो सत्र २०७५ समूहको नियमित तथा सोही सत्रको सोभन्दा अगाडिका समूहको अाँशिक परीक्षामा परीक्षार्थीहरुले हाक्काहाक्की चिट चोरेका हुन् । त्यसमा परीक्षाहलमा उपस्थित निरीक्षकहरुले समेत सघाएको समाचार बाहिरिएको छ ।

हाल त्यहाँ भक्तपुर बहुमुखी क्याम्पस,एसियन कलेज अफ हाइयर स्टडिजलगायत ११ वटा क्याम्पसका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् । सहभागी केही परीक्षार्थीका अनुसार परीक्षामा मोबाइल फोन प्रयोग गर्न दिइएको छ । चिट चोर्न सहयोग पुर्याएवापत निरीक्षकहरुले विद्यार्थीसँग अनुचित लाभ लिएको उनीहरुले बताएका छन् ।

अनुचित लाभ लिएका निरीक्षकहरुको कोठामा विद्यार्थीहरुले सिट प्लानको पालना गरेका छैनन् भने खुलमुखुल्ला कुराकानी र चिट चोरेको परीक्षार्थीहरुले नै आरोप लगाएका छन् ।

यसबारे बुझ्दा क्याम्पस प्रमुख डा. लक्ष्मणसिंह कुँवरले भने परीक्षा दिनमा तीन सिफ्टमा हुने भएकाले सिट प्लान बिग्रेको बताउनुभयो । तर उहाँले चिट चोर्न मद्दत गर्ने निरीक्षकबारे जानकारी पाएमा तत्काल कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

केही परीक्षार्थीले भने आफूहरुले चिट नचोरी परीक्षा दिए पनि चिट चोर्ने अन्य विद्यार्थी र चिट चोर्न सहयोग गर्नेका कारण परीक्षा केन्द्रको वातावरण बिग्रिएकोमा गुनासो गरेका छन् ।

टिप्पणीहरू