​बर्दीमा हिरो, पढाइमा जिरो

देश अत्यन्त जटिल परिस्थितिबाट गुज्रिएको बेला सुरक्षा गर्नुपर्ने फौजी जनशक्ति निर्माण गर्न सरकारले भर्ना आह्वान गर्छ, तर पढाई कमजोर भएकै कारण उत्तीर्णहरुको संख्या हेर्दा दिक्कलाग्दो अवस्था छ । पढ्नुपर्ने कुरा नपढ्ने, जागिरमात्र खोजिरहने पुस्ताको विकास भएको यस्तो दृष्टान्त छ, नेपाली सेनाको खरिपाटी अधिकृत क्याडेट छनोटमा । 

यस वर्ष एक सय ५० जनाको माग भई विज्ञापन प्रकाशित गरियो । करिब चार हजारले दरखास्त दिएकामध्ये साधारण शरीर पहिचान, दौड, सेट अप, पुस अप र आइक्यू टेस्टमा पास भएर बाँकी रहेका १३४५ जना लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सामेल भए । तर, जम्मा १९ जनाले मात्रै उक्त परीक्षा उत्तीर्ण गरेका छन् । यिनमा महिलाको संख्या शून्य छ । अझै अन्तर्वार्तालगायतका छनोट चरण बाँकी नै छ । त्यो सबै पास गर्ने बढीमा १० जना मात्रै होलान् । यसरी आवश्यक भन्दा ज्यादै कम उत्तीर्ण भएपछि सैनिक मुख्यालयले फेरि अधिकृत क्याडेटका लागि विज्ञापन निकालेको छ । खरिपाटीमा टेकबहादुर सिंह भर्ना छनौटका हाकिम छन् । 

यसैबीच, सेनाका कार्यरथी शेखर बस्नेत माघमा घर जाँदैछन् । सैनिक प्रवक्ता बनेका सहायक रथी झंकर कडायत सुदूरपश्चिम पृतनाको निमित्त प्रमुखमा बढुवा भएका छन् । पश्चिम अछामनिवासी उनले सरल र भद्र जर्नेलको छवि बनाएका छन् । त्यस्तै डा. शशी राई पनि दुईतारेमा बढुवा भएका छन् । प्राविधिक महासेनानी रामाधार सिंह र हगेन्द्र महर्जन पनि एकतारेमा बढुवा भएका छन् । 

उता, पूर्वीय गुरुङका छोरा, नवलपरासी ससुराली भएका प्रमुख सेनानी जीतेन्द्र गुरुङ धेरै लोभ गर्दा बिलापमा परेका छन् । छत्रमानको पालादेखि नै पोखरा र भक्तपुरको सैनिक स्कुल पोष्टिङमा चलखेल गरेर करोडौं कुम्ल्याउन सफल भएका थिए । त्यही रकम प्रयोग गरेर श्रीमती सरोजनीमार्फत जग्गामा लगानी तथा दलाली गर्दै ३० करोडभन्दा बढी रकमको मालिक बने । गौरवसमशेरको पालामा टोखाको गणपति हुँदा करिब तीन करोड थप कमाउन सफल भए । अहिलेका सोझा चिफ राजेन्द्र क्षेत्रीलाई पनि अनेक प्रभावमा पारी हवाईको तालिममा सँगै जान सफल भए भने कंगो अब्जर्भरमा जानुको साथै माओवादी सैन्य तालिम बसेको सैनामैना, नवलपरासीको हाकिम पड्काए ।

तालिमको अनेक खर्चदेखि गत महिना पासआउट भएका सैनिकहरुसँग रंगरोगन, भोज, मेन्टिनेन्स, पाहुना खर्च भनी करिब एक करोड उठाएर पचाउन खोज्दा माथिल्लो निकायमा रिपोर्ट परेपछि उनलाई तुरुन्तै बैरेनीस्थित ६ नं बाहिनीमा तानेर छानबिन अगाडि बढेको छ । उनको आर्थिक प्रगति हेर्दा सबैले जिब्रो टोक्नुपर्ने अवस्था छ । उनी कंगो अब्जर्भरमा छनौट प्रतिस्पर्धा हुँदा तीनपटक ड्राइभिङमा फेल भएका व्यक्ति हुन् । उता हगेन्द्र महर्जन भने एक लाख डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवालेका बहिनी ज्वाइँ हुन् । ग्वार्को चोकमा घर छ । बाबु ललितपुरमा ढुंगा खानी चलाउँछन् । 

टिप्पणीहरू