​दलालसँग सोझै डिल गर्दा

नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज मे÷जुन महिनातिर नेपाल आउने तयारीमा छन् । अबको ४५ महिनामा ठूला प्लेन नै आउन लागे पनि खरिद गर्ने बेला निर्णय प्रक्रियामा सामेल भएका केही उच्चपदस्थ कर्मचारीलाई महालेखा परीक्षकको कार्यालयले बोलाएर कस्न थालेको छ । स्रोतका अनुसार, उनीहरूलाई ‘त्यस्तो निर्णय गर्दा सीधै निर्माता कम्पनीसँग डिल नगरी किन एजेण्टमार्फत कारोबार गरियो ?×’ भन्ने प्रश्न गरिँदै छ । राजश्वसचिव शिशिर ढुंगाना र हाल सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवन सिटौलालाई यस्तो प्रश्न सोधिएको हो । उनीहरू बोलपत्र आह्वान गर्दा कम्पनी सीधै आएन । दलालमार्फत नै आएको हुँदा यसरी कारोबार गर्नुपर्ने अवस्था आएको जानकारी दिँदै उम्कने  गरेका छन् । 

उता, लोकमानसिंह कार्की भन्सारको महानिर्देशक रहेका बेला राजश्व कम उठेपछि पछि हिसाब मिलाउने गरी ‘सदर स्याहा’ मार्फत पहिले नै पैसा बुझेका थिए । तर, भरतमोहन अर्थमन्त्री भएपछि उनलाई हटाइदिए । उनी राजस्व ४८ प्रतिशत उठाउनेलाई हटाए भन्दै मन्त्रीलाई गाली गरेर हिँडेका थिए ।

अहिले पनि राजश्व संकलनमा कमी आएपछि ‘सदर स्याहा’ कै विधि अपनाएर रकम संकलन गर्न थालिएको छ । पछि सोधभर्ना गर्ने गरी अग्रिम रकम उठाएर लक्ष्यभन्दा कम भएको १५÷२० अर्ब उठाउनुपर्ने भएको छ । तुरुन्तै थप राजश्व संकलन हुने अवस्था पनि छैन । किनकि यो सरकार जाने निश्चित भएको अवस्थामा उसले राखेको मान्छेले नयाँ सरकारका लागि ढुकुटी भरिदिने कुरै भएन ।

यसो हुँदा यो पूरा गर्न सार्वजनिक संस्थान जस्तै ः विद्युत् प्राधिकरण, नेपाल बैंक लिमिटेड, दुग्ध विकास संस्थान, राष्ट्रिय वाणिज्य बैंक, बिमा संस्थान, आयल निगम, नेपाल वायुसेवा निगम, दूरसञ्चार प्राधिकरण, नागरिक उड्डयन प्राधिकरणलाई अग्रिम रूपमा राजश्व तिर्न दबाब दिने काम भइरहेको छ । यसो हँुदा पछिको पैसा अहिले नै खर्च हुने र समस्या झन् ठूलो हुने पक्का छ तर त्यो बेलाको समस्या अहिलेका हाकिमले टार्नुपर्ने होइन । त्यसैले सकेसम्म रित्याएर, ढुकुटी खाली गरेर, उठ्ने मुहान सुकाएर मात्र सिंहदरबार छाड्ने सुरमा हालको सरकार रहेको देखिएको छ ।

पूर्वराजाको सुन्ने पालो
कालिमाटीस्थित होटल सोल्टी क्राउन प्लाजाको शाखा विस्तारका क्रममा नेपालगञ्जमा हालै बनेको होटल पूर्वराजा ज्ञानेन्द्रले सन् २०१८ को पहिलो विहानी उद्घाटन गरे । त्यसअघि बुहारी हिमानीले थापाथलीस्थित नर्भिक अस्पतालमा विस्तारित सेवाको शुभारम्भ गरेकी थिइन् । उनले १२ गते काठमाडौंको कार्यक्रम सिध्याएपछि १३ गते बुद्ध एयरको उडानबाट उनीहरु नेपालगञ्ज पुगेका हुन् । अहिले ज्ञानेन्द्रसँग नेपालगञ्जमा पत्नी कोमल र बुहारी हिमानीमात्र छन् । बालबच्चा भने पढाईका कारण त्यता गएनन् ।

पारस अझै निर्मल निवासमा बस्न थालेका छैनन् । नेपालगञ्जबाट फर्किएलगत्तै स्वास्थ्य परीक्षणका लागि बैंकक जाने कार्यक्रम रहेको निकटस्थहरुले बताएका छन् । त्यतिबेलासम्ममा हिमानीका बच्चाहरुको हिउँदे बिदा हुने र उनीहरुलाई साथमै लिएर विदेश जाने कार्यक्रम रहेको बताइन्छ । कोमलको शरीरमा गोलीले बढाउँदै लगेको समस्या, ज्ञानेन्द्रको रक्तचाप नियन्त्रण र मुटुको परीक्षणसँगै हिमानीको मृगौलामा पत्थरीको उपचार गराइने भएको छ ।

गतसाता राजनीतिक परामर्शको क्रममा ज्ञानेन्द्रले वामगठबन्धनप्रति सकारात्मक धारणा राखेको भेट्न गएका एक राजनीतिज्ञले बताए । यसबाहेक भेटिएका व्यक्तिसँग आफ्नो कुरा भनेनन्, उनीहरुको कुरामात्र सुने ।

टिप्पणीहरू