एमालेले कसरी पुर्यायो साढे ६ हजार ?

एमालेले कसरी पुर्यायो साढे ६ हजार ?

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि शुरु हुँदैछ । ललितपुरको गोदावरीमा अध्यक्ष केपी शर्मा ओलीले अहिले केही बेरपछि उद्घाटन गर्ने तीन दिने अधिवेशनमा मुलुकभरबाट साढे ६ हजार एमालेजन भेला हुने बताइएको छ ।

ती कार्यकर्ता कसरी र कहाँबाट जम्मा पार्न लागियो भन्ने आवाज उठेपछि एमालेले आजदेखि शुरु हुने महाधिवेशनमा सहभागी हुनेहरुको फेहरिस्त सार्वजनिक गरेको छ । जसअनुसार केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १ सय ९६ जना हुनेछन् भने केन्द्रीय आयोग तथा परिषद्का २ सय १३ जना सदस्य पनि स्वतः प्रतिनिधि हुने ब्यवस्था मिलाइएको छ ।

त्यसैगरी केन्द्रीय विभागका ३ सय १० जना,जनसंगठनका २ सय २० जना,प्रदेश कमिटीका २ हजार २ सय ७१ जनालाई पनि विधान महाधिवेशनको प्रतिनिधि तोकिएको छ । उपत्यका विशेष कमिटीका १ सय ९८ जना, सम्पर्क समन्वय कमिटीका ३ सय ६० जना, जिल्ला कमिटीका पदाधिकारीहरु ३ सय ६४ जनालाई समेत सहभागी हुन भनिएको छ ।

त्यसैगरी सबै निर्वाचन क्षेत्रबाट ४ सय ७ जना,प्रवास क्षेत्रबाट १ सय २६ जना,स्थानीय तह,प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु ९ सय ३४ जना, एकता प्रक्रियाबाट समायोजन भएका पूर्वमाओवादीहरु ५ सय ३२ जना र केन्द्रीय कमिटीबाट मनोनित ५ सय ६६ जना गरी कूल ६ हजार ३ सय ४७ जनाले आजदेखि शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागिता जनाउन लागेका हुन् ।

टिप्पणीहरू