गृहमन्त्रीको गृहनगरमा दिनहुँ मूर्दावाद

गृहमन्त्रीको गृहनगरमा दिनहुँ मूर्दावाद

प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटका शक्तिशाली गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यतिबेला दिनहुँजसो सडक आन्दोलन भइरहेको छ । आन्दोलनकारीहरुको एउटै माग छ, ‘सीता भण्डारीको मृत्यु हत्या हो कि आत्महत्या प्रमाणसहित जवाफ चाहियो ।’

गृहमन्त्रीको गृहनगर हो,तिलोत्तमा नगरपालिका । कोरोना महामारीले तहसनहस पारेपछि भर्खरै पुनर्जीवित हुँदै गरेका नागरिकहरु आफ्नो पेशा व्यवसाय छाडेर दोषीलाई कारबाही गर,निकम्मा प्रहरी प्रशासन मूर्दावाद भन्दै दैनिकजसो नाराबाजी गरिरहेका छन् । उनीहरुलाई यतिबेला बिहान बेलुकीको जोहो गर्नुभन्दा शान्ति सुरक्षाको चिन्ताले सताएको छ ।

सीताको मृत्यु भएको २६ दिन पुगेको छ । उनको हत्या भएको हो वा आत्महत्या अझै यकिन हुन सकेको छैन । मृत्युको विषयलाई लिएर मणिग्राम क्षेत्रमा दिनहुँ सडक आन्दोलन भइरहेको छ । आन्दोलनकारीहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको,हत्याको कारण खोज्न नसकेको भन्दै नेपाल प्रहरीको विभागीय मन्त्री समेत रहेका खाँणको राजीनामा समेत माग्न थालेका छन् ।

गृहनगरमा दैनिक शान्ति सुरक्षाको माग गर्दै आन्दोलन गरिरहँदा पनि गृहमन्त्री भने बेवास्ता गरेर काठमाडौंमा व्यस्त हुनुहुन्छ । विगतमा सामान्य घटनामा पनि विज्ञप्ति निकालेर मिडियाबाजी गर्ने गृहमन्त्री सीताको मृत्युको विषयलाई लिएर भइरहेको आन्दोलनको बारेमा भने एक शब्द नबोलेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

जानकारहरु भन्ने गर्दछन्, ‘ खाँणलाई भाइ र श्रीमतीको सिफारिस सूची हेर्दैमा फुर्सद छैन । आगामी चुनावको बन्दोबस्तीमा व्यस्त रहेकाले छिमेकी मरेको वा बाँचेको हेर्ने,सुन्ने फुर्सद छैन उहाँलाई ।’

खाँण आगामी निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । विगतमा उहाँले समानुपातिकमा बसेर राप्रपाका दीपक बोहोरालाई सहयोग गर्नुभएको हो ।

तर आगामी निर्वाचनमा भने खाँणसँगै बोहोरा र एमालेका घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने देखिन्छ । राष्ट्रिय तहका नेताहहरुबीच कडा प्रतिसपर्धा हुँदा खर्च पनि अत्यधिक हुने भएकाले मन्त्री अहिल्यैदेखि स्रोत व्यवस्थापनमा लागेको आरोप छ ।

स्रोतका अनुसार केन्द्रमा श्रीमती मञ्जुले र लुम्बिनी प्रदेशमा भने रुपन्देही काँग्रेसको सचिवसमेत रहेका सहोदर भाइ रामकृष्णले दाइको आडमा प्रभाव बढाउँदै लगेका हुन् ।

त्यसैको प्रमाणको रुपमा कहिँ कतै सरुवा नहुँदै भैरहवाको डण्डा राजश्वमा साउनको अन्तिम साता एकाएक सशस्त्र प्रहरी निरीक्षक कृष्ण अर्याललाई इञ्चार्ज बनाएर पठाउनु नै रामकृष्णको प्रहरी प्रशासनमा पहिलो अभ्यास हो भनिएको छ ।

सामान्य अवस्थामा समेत मासिक लाखौं अतिरिक्त कमाइ हुने उक्त ठाउँको इन्चार्जसीप लिने दाउमा खाँणले प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाको सिफारिसलाई समेत लत्याएको चर्चा गर्न थालिएको छ ।

देउवाले उक्त ठाउँमा सुदूरपश्चिमकै एक जना प्रहरी निरीक्षक पठाउनेगरी गृहमा नाम नै पठाएको तर त्यसलाई थन्काएर गृहमन्त्रीले भाइ रामकृष्णको सिफारिसलाई कार्यान्वयन गराएको बताइन्छ ।

सशस्त्र प्रहरी निरीक्षक अर्यालले डण्डाको इञ्चार्ज बनाएवापत रामकृष्णलाई पाँच लाख सहयोग गरेको बजार हल्लाले रुपन्देही नै थर्किएको छ । त्यसपछि रामकृष्णलाई भेट्ने सुरक्षा निकायका अधिकारीहरुको लाइन सँधै बाक्लो हुन थालेको हो ।

जिल्लाका सिडियो आसमान तामाङको हालैको सरुवालाई समेत उनैको चालबाजी हो भन्न थालिएको छ । जिल्लामा आफ्नै विरुद्ध भइरहेको प्रदर्शनको बारेमा सोधिएको जिज्ञासामा गृहमन्त्रीले सँविधान दिवसपछि गृहजिल्ला जाने बताउनुभएको थियो ।

तर अहिले उहाँ निकट स्रोतले मन्त्रिमण्डल विस्तारपछि मात्र गृहजिल्ला जाने बताएको छ ।

टिप्पणीहरू