कर्णालीका कुन कुन ठाउँमा काँग्रेसको अधिवेशन स्थगित ?

कर्णालीका कुन कुन ठाउँमा काँग्रेसको अधिवेशन स्थगित ?

नेपाली काँग्रेसले सुर्खेत र डोल्पाका गरी १७ स्थानीय तहको वडा अधिवेशन अझै गर्न सकेको छैन । १४ औं महाअधिवेशनअन्तर्गत काँग्रेसले ती दुई जिल्लाका डेढ दर्जन स्थानीय तहमा अहिलेसम्म वडा अधिवेशन गर्न मुश्किल परेको हो ।

क्रियाशील सदस्यताको विवाद टुङ्गिएर नामावली प्रकाशित भए पनि वडा अधिवेशनको मिति भने तोकिएको छैन । दशैंअगाडि नै गाउँ नगरका अधिवेशन हुने भनिए पनि अहिलेसम्म कुनै तालिका सार्वजनिक नभएको हो ।

काँग्रेसले कर्णालीका हिमाली जिल्लाहरूमा दशैँअघि नै अधिवेशन सक्ने बताएको थियो । यसबीच काँग्रेसले कर्णाली प्रदेशका अन्य आठ जिल्लाका अधिकांश स्थानीय तहका कार्यसमितिमा नेतृत्व छनोट गरेको छ ।

१४ औं महाधिवेशनअन्तर्गत उसले गाउँ/नगर अधिवेशनबाट प्रदेशका ७९ मध्ये ६२ पालिकाको नेतृत्व चयन गरिसकेको छ । प्रत्येक वडाका अधिवेशनमा पार्टीका दुई समूहबीच नेतृत्व पाउन प्रतिस्पर्धा भएको छ ।

केही पालिकामा सर्वसम्मत कार्यसमिति चयन भए पनि धेरैमा निर्वाचन प्रक्रिया अपनाइएको छ । पालिकाको अधिवेशनमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानल नै बनाएर भिडेका छन् ।

अधिवेशन सकिएकामध्ये धेरै स्थानमा पौडेल समूहले नेतृत्व पाएको छ । कर्णालीका ३४ पालिकामा पौडेल समूहका सभापति बनेका छन् भने २७ स्थानमा देउवा समूहको बिजय भएको छ ।

जाजरकोटको एउटा पालिकाका सभापति दुबै पक्षमा खुलेका छैनन् । अधिवेशन सकिएका पालिकामा प्रदेशभर एक जना मात्र महिला मूल नेतृत्वमा पुगेकी छन् ।

अधिवेशन भएका ६१ पालिकाको सभापतिमा पुरुष चयन भएका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिकामा भने सीता केसी कार्यसमिति सभापति बनेकी छन् । छत्रेश्वरीमा मतदानमार्फत केसीले पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै जीत हासिल गरेकी हुन् ।

टिप्पणीहरू