​यही नै हो त प्रारब्धको फल ?

  • कुसुम भट्टराई

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यो मुलुकमा कुनै दिन प्रधानमन्त्री बन्लान्? हालको गणित हेर्दा यस्तो सम्भावना छैन । कांग्रेसभित्र पनि देउवाको विकल्प खोजी हुँदा पौडेल ओलीपछाडि नै परेको खबर आउँछ । कांग्रेसभित्र कस्ता–कस्ता ‘अक्षम’हरू बारम्बार प्रधानमन्त्री भइरहँदा लोकतन्त्रका लागि योगदान दिएका पौडेलका लागि त्यो साइत कहिल्यै जुरेन ‘ ।युवा नेता’, ‘दोस्रो पुस्ता’ भन्दाभन्दै बूढा पुस्तामा दरिइसके । 

बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहपछिको स्थानमा रहेका पौडेलको नियति कस्तो रह्यो भने प्रधानमन्त्री बन्ने चर्चा हुँदा उनको नाम बारम्बार आइरह्यो । तर, त्यो सपना भने आजसम्म पूरा भएको छैन । यसपालि वाम गठबन्धनले भारी बहुमत ल्याएपछि त झन् सम्भावना करिब–करिब ट¥यो भन्दा हुन्छ । राजनीतिको खेल पनि अजबको हुँदो रहेछ । ०४६ सालको परिवर्तनपछि कांग्रेसको नेतृत्वमा नेतात्रयको अवधारणा हावी थियो । शीर्ष नेतृत्वमा थिए, सर्वोच्च नेता गणेशमान सिंह, कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला । दोस्रो तहका नेतात्रयमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य थिए, जसलाई कांग्रेसजन ‘आरएसएस’ भन्ने गर्थे ।

यो नेतृत्वको पंक्तिपछि नेतात्रयको प्रभावशाली समूह थियो, ‘केजीबी’ । रुसी खुफिया एजेन्सीको नामसँग मिल्ने यो समूहमा थिए, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार । पछि यो समूह ‘एकेजीबी’मा परिणत भयो र अर्जुननरसिंह केसी पनि हावी हुँदै आए । कांग्रेस नेतृत्वको यो तत्कालीन वरियताक्रम हेर्दा गणेशमानजी, किसुनजी र गिरिजाबाबुपछिको स्थान रामचन्द्र पौडेलकै थियो । ०४८ सालको आमनिर्वाचनपछि शीर्ष नेतृत्व तहमा अन्तरकलह चर्किंदा जब प्रधानमन्त्रीको उम्मेदवारका रूपमा दोस्रो पुस्ताका अनुहारहरूको चर्चा शुरु भयो, त्यतिबेलै रामचन्द्र पौडेलको नाम प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालिसकेको थियो । प्रधानमन्त्री पद एउटा यस्तो गोलपोष्ट हो, खेलाडीले अन्य धेरैलाई झुक्याउँदै, छक्याउँदै र छलाउँदै बललाई त्यहाँसम्म पु¥याउनुपर्छ । गोलपोष्ट अगाडि पुगेपछि पनि गोल किपरको बाधा छिचोल्न सके मात्र गोल सम्भव छ । योगदान र वरिष्ठताक्रमले माथि भए पनि प्रधानमन्त्रीको दौडमा रामचन्द्र पौडेललाई शुरुमै शेरबहादुर देउवाले पछि पारिदिए ।

अब त नियतिको खेल नै भन्नुपर्छ, बितेका २५ वर्षमा प्रधानमन्त्री बन्ने पालो कहिल्यै आएन, पौडेलको । प्रचण्डसँग प्रधानमन्त्रीको प्रतिस्पर्धामा १७ पटकसम्म हारे । नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री पदको चुनावको त्यो यस्तो पहिलो नौटंकी थियो, जसमा अन्ततः प्रचण्ड र पौडेल दुवै प्रधानमन्त्री बन्न नसकेपछि एमाले नेता झलनाथ खनालको पालो आयो । संविधानसभा विघटनपछि बाबुराम भट्टराईको सरकार ढल्यो र नयाँ प्रधानमन्त्रीको खोजी शुरु भयो । एकथरीले कांग्रेस सभापति सुशील कोइरालाको नाम अघि सारे । तर, माओवादीले कोइरालाको नाममा सहमति जनाएन । महाधिवेशनमा शेरबहादुर देउवाले एउटा प्रस्ताव राखेका थिए, ‘तपार्इं प्रधानमन्त्री बन्नुस्, म पार्टी सभापति बन्छु । यसबाट एकताको सन्देश जान्छ र प्रधानमन्त्री बन्ने तपार्इंको उत्कट अभिलासा पनि पूरा हुन्छ ।’

पौडेललाई नेपाली राजनीतिको क्रूर र धूर्त शैली थाहा थियो । प्रधानमन्त्री बनाइदिने देउवाको वचन भोलि गएर पूरा हुने÷नहुने केही ठेगान थिएन । अनि त्यो देउवाको मात्र वशको कुरा पनि थिएन । सोही कारण उनले त्यो प्रस्ताव मानेनन् र सभापतिमा भिड्न तयार भए, भिडे । शेरबहादुर देउवा र प्रचण्डबीच नौ–नौ महिनामा पालैपालो प्रधानमन्त्री बन्ने गरी सत्ता समीकरणको सम्झौता भइरहेका बेला ‘काउन्टर खेल’ बमोजिम एमाले अध्यक्ष केपी ओलीले कांग्रेसकै पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, त्यो पनि सम्भव भएन । हरेक पटक प्रधानमन्त्री फेरिने बेला सम्भावितको रूपमा चर्चा कमाउनु अनि प्रधानमन्त्री बन्नबाट वञ्चित हुनु नै पौडेलको नियति हो त ? बारम्बार किन उनलाई माछोमाछो भन्दै अन्त्यमा भ्यागुता मात्र समात्न लगाइन्छ ? नेपाली राजनीतिमा युवा पुस्ता भन्दाभन्दै बूढा भइसकेका पौडेलमाथि उनले लोकतन्त्र र नागरिक अधिकारका लागि पु¥याएको योगदानको कदर कहिले होला ? यो देशमा कसैले नपत्याएका डा. केआई सिंह प्रधानमन्त्री बने । नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री बने । जागिर खाइरहेका खिलराज रेग्मी प्रधानमन्त्री बने । कांग्रेसमै गिरिजाबाबु पटक–पटक प्रधानमन्त्री बने । कांग्रेसकै शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री बने र फेरि बन्ने ताकमा छन् । तर, के पौडेलले एक पटक पनि प्रधानमन्त्री बन्न नपाउने? के यही नै हो उनको भाग्य ? के यही नै हो प्रारब्धको फल ?

टिप्पणीहरू