माधवले जम्माजम्मी यति मात्रै हैन र मागेको ?

माधवले जम्माजम्मी यति मात्रै हैन र मागेको ?

माधव नेपालले पटक–पटक भन्नुभयो, ‘हैन, त्यस्तो बेला भएको छैन ।’ तर, दोस्रो पुस्ताले उहाँमाथि शंका गर्थ्याे, ‘हैन, हैन भन्दै हामीलाई कति दिन अल्मल्याउनुहुन्छ ? गर्ने भए छिटो गरिहालौं !’

तर, आठ महिनाभित्रैका यी संवाद आखिरमा ठीक उल्टोसँग प्रकट भएको छ । कुनै दिन शंकर पोखरेलले नै भन्नुभएको थियो– ‘सार्वजनिक रुपमा एमाले भनेर चिनिँदा लामो समयको नेतृत्व र लिगेसीका कारण होला, मानिसहरू माधव नेपालको पार्टी भन्छन् ।’ अर्थात्, नेकपा (एमाले) को निर्माण, व्यवस्थापन र विस्तार गर्ने माधव नेपाल मुख्य खम्बा हुनुुहुन्थ्यो ।

उहाँले मध्यअसारसम्म पनि पार्टी फुटाइहाल्ने वा कुनै किसिमले बहिर्गमित भइहाल्ने कुरा रोक्दै आउनुभयो । उहाँले नै हो, हिजो अष्टलक्ष्मी, भीम रावलहरूले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदबाट एकैचोटि घोक्रेठ्याक लगाउनुपर्छ भन्दा रोकेको । भन्नुभएको थियो, ‘प्रचण्ड र हामी मिल्दा पनि आधा शक्ति केपीकै होल्डमा छ । त्यस्तो स्थितिमा दुबैतिरबाट फाल्ने कुराले पार्टी विभाजन निश्चित गर्छ । त्यस्तो गर्न हुन्न ।

अनि, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका व्यवहार र अभिव्यक्तिमा ‘म संस्थापन हुँ’ वा ‘प्रतिपक्षी’ भन्ने कुरामै विरोधाभाष देखिन्थ्यो किनकि संस्थापन पक्ष वा सत्ताको डाडु पन्यु बोकेको मान्छेले हरेक विषयमा हरेकमाथि सार्वजनिक टिप्पणी गर्दै हिँड्दैन । उहाँले चाहिँ त्यस्तो गरिरहनुभयो ।

किनभने, राजनीतिक जीवनको लामो समय उहाँ संगठन निर्माणमा भन्दा पछाडि बसेरै चलखेल गर्नमा व्यस्त रहनुभयो । झापाकाण्डपछि संगठन बनाएर हिँड्ने अवसर पाउनुभएन । लुक्दैभाग्दै भारततिर बढी र त्यसपछिका समय जेलमा बित्यो । जेलबाट रिहा भएपछि पाटनतिरको मेजमानीमै रम्नुभयो । खुला भएपछि मदनसँग निकट रहेर काम गर्नुभयो ।

मदनको निधनपछि मदन छँदाको जस्तो स्पेश पाउने कुरा थिएन । किनभने, सांगठानिक इतिहास र भूमिकामा उहाँ धेरै नेताभन्दा पछाडिको हुनुहुन्थ्यो । माक्र्सवादीबाट आएकाहरूलाई छाडेर हेर्दा पनि मोहनचन्द्र अधिकारी, माधव नेपाल, मुकुन्द न्यौपाने, अमृत बोहोरा, वामदेव गौतम उहाँभन्दा सिनियर नेता थिए । तर, मदनको अवसानपछि उहाँले पछाडि बसेर खेल्नमा निक्कै समय खर्चिनुभयो ।

०७१ मा पार्टी अध्यक्ष हुनुअघि उहाँ जहिल्यै प्रतिपक्षीय भूमिकामा रहनुभयो । त्यसैले होला सधैंजसो अभिव्यक्ति, भूमिका र कार्यशैली प्रतिपक्षीय नै भए । त्यही कार्यशैलीले छँदाखाँदाको पार्टीबाट पार्टी निर्माण गर्ने मुख्य–मुख्य नेताहरू नै लखेटिन पुगे ।

यसबाट एक किसिमले उहाँका निम्ति मैदान खालि भएको छ । किनभने, निर्वाध पार्टीको सत्ता सञ्चालन गर्न माधव नेपालले सँगै हुनुहुन्न । माधवले त्यस्तो के ठूलो कुरा माग्नुभएको थियो, जो केपीले पूरा गर्न सक्नुभएन ? उहाँले विभाजनको पक्षमा कहिल्यै वकालत गर्नुभएन । बरु, केपी ०५४ मा वामदेव गौतमहरू विभाजनमा जाँदा त्यसको सबभन्दा जमेर प्रतिवाद गर्ने माधव नै हुनुहुन्थ्यो । केपी ०७४ सालमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

एक वर्षमै वामदेव, प्रचण्डहरू मिलेर केपीलाई हटाउन खोज्दा नमान्ने माधव नै हो । अष्ट, भीम रावलहरूले दुबै पदबाट हटाइदिऔँ भन्दा त्यसो नगरौँ भन्ने पनि माधव नै । उहाँले भन्नुभएको थियो, ‘विधि र पद्धतिमा चलौँ । जे गर्नुछ, त्यो सबै सल्लाह, सहकार्य, समन्वय, समझदारी र सहमतिमा गरौँ ।’ तर, केपीले यसको ठीक विपरत मनोमानी तवरले काम गर्दै जानुभयो । माधवको इमान भनेको अनैतिकता र भ्रष्टाचारमा संलग्न नहुनु हो ।

कम्युनिष्ट पार्टीको प्रचलनभन्दा बाहिर नजाऔँ, पार्टीलाई पद्धतिमा चलाऔँ भन्ने हो । गलत मान्छेसँग उठबस नगरौँ, आर्थिक लाभ नलिऔँ भन्ने आदर्शलाई वाल्यकालदेखिले अनुशरण गर्नुभयो । त्यही नै उहाँको स्वत्व, इमान हो । तर, त्यसैमा केपीबाट टुचुटुचु घोच्ने काम भयो । कहिले बालुवाटारको ललिता निवास प्रकरणमा गच्छेदारहरूसँगै जोडेर माधवलाई तर्साउन खोजियो । कहिले वाइडबडीको मुद्दा झिकेर शेरबहादुर देउवालाई थर्काइयो । अनि, उनै देउवासँग मिलेर संवैधानिक परिषद्मा नियुक्तिहरूको भागबण्डा लगाउँदै आफ्नो पार्टीका नेताहरूलाई दरकिनार पार्दै जाने काम भयो ।

माधव–प्रचण्डहरूले केही राजदूत, केही मुख्यमन्त्री, केही राजनीतिक नियुक्तिलाई सन्तुलित बनाऔँ, हामीसँग पनि सल्लाह गर्नुस् मात्रै भन्नुभएको हो । माधवले आफू प्रधानमन्त्री हुँदा झलनाथको तर्फबाट सुरेन्द्र पाण्डे र रकम चेम्जोङ, केपीका शंकर पोखरेल र विद्या भण्डारी, आफ्नो तर्फबाट रवीन्द्र श्रेष्ठ र भीम रावललाई राखेर सन्तुलित सरकार बनाउनु भएकै हो ।

तर, त्यसको ठीक विपरित माधवको नाम लिने एक एकलाई चित्रगुप्तले झैं हिसाव खोतली खोतली दरकिनार लगाउने काम केपीबाट भएकै हो । उहाँले जालझेल, तिकडम गर्नुभयो । मुखले एकथोक भनेर अर्को काम गरिरहनुभयो । त्यसैले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमजस्ता नेतालाई एमालेमा रहने स्थितिलाई शून्यमा झारिदिनुभयो । त्यसो त इतिहासले प्रमाणित गर्ला, कसलाई कसले धकेल्यो भनेर । विभाजन गर्ने मनस्थिति हुन्थ्यो भने आफूसँग रहेका निर्वाचित जिल्ला कमिटीका ३७ अध्यक्ष साथमा हुँदै माधवले आँट्नुहुन्थ्यो होला ।

तर, अहिले विभाजनमा जाँदा ९ अध्यक्षमात्र छन् । एमालेमै रहेर बस्छौँ भन्नेहरू जतिले पुनर्वहाली पाए, माधवकै जेठ २ को अडानले हो । भीम रावल, अष्टलक्ष्मीहरूको उपाध्यक्षको जिम्मेवारी जोगिएको पनि माधवकै अडानले हो । भीम रावलहरू पनि पहिला ‘चिह्न ठूलो होइन, संगठन बनाइन्छ’ भन्नेमै थिए । अन्तिममा कैलालीका दीर्घ सोडारी, कञ्चनपुरका तारा लामाजस्ता हस्तीसमेत आफूसँग साथमा नरहने गरी उहाँ एमालेमै रहनुभयो । यस्तो हुँदा पनि माधवबाट केपीको जस्तो तिखो, बिझ्ने बोली निस्किएको छैन ।

यसबीच केपीले एकथोक बोल्दै, अर्कोथोक गर्दै हिँड्नुभयो । माधवले स्वास्थ्यलाभको कामना गर्दा ‘चाहिएन तपाईंको शुभकामना’ भनेर अशिष्टता प्रकट गर्नुभएकै हो । आफ्नै खर्चमा उपचार गराएको छु भन्नेले राज्यकोषबाट करोडौँ दोहन गरेका तथ्य सार्वजनिक भइसकेकै छन् ।

टिप्पणीहरू