कम्युनिष्टका काइदा के हो ?

कम्युनिष्टका काइदा के हो ?

हुँदाहुँदा अब कम्युनिष्ट पार्टी कस्तो भइदियो भने, नेताको देवत्वकरण गर्ने र त्यो आडमा आफू हावी हुने । काठमाडौंबाट धाईधाई गण्डकीमा जनमोर्चाको सांसद चोरेर अस्पताल लैजाने र बर्दिबासबाट मधेशी सांसद अपहरण गरी रातारात राजधानी ओसार्नेहरू नै नेतालाई बालुवाटार र एयरपोर्टदेखि एस्कर्ट गर्दैै ठाउँ–ठाउँमा लैजान्छन् । अनि, त्यो निकटता देखाएर विभिन्न काम लिन तल्लिन हुन्छन् ।

नेताको नाम भजाएर गृहसचिव, आइजिपी, दुई तारे जर्नेलको पोष्टिङ हुने भएपछि व्यक्ति–व्यक्तिपिच्छेका अलग–अलग शक्तिकेन्द्र बन्ने नै भए । ती व्यक्तिले अपराधै गरे पनि सात खत माफ हुने नै भयो । आफ्नै सहकर्मी विभिन्न गतिविधिमा लाग्दा र घरबार बिग्रँदा पनि छूट । पीडितले राष्ट्रपतिकहाँ रुँदा पनि न्याय नपाउने अवस्था त्यस्तै व्यक्तिहरू हावी हुनाले बनेको हो । उनीहरू नै ‘फलानोले मलाई मन्त्री हुन दिएन’ भन्दै राष्ट्रपतिकहाँ पुग्न पनि लाज मान्दैनन् ।

थापाथली हाइटमा एमालेको नयाँ कार्यालय छ । नेता र संगठनको अह्रन खटन तथा व्यवस्थापन त्यहीँबाट हुनुपर्ने हो । तर, बालकोट बसेर ‘आई लभ यु केपी बा’ भन्नेहरू असली एमाले बनेका छन् । जिल्ला, नगर, प्रदेशका पार्टीको कार्यक्रममा तिनै पुग्छन् । केन्द्रीय कार्यालयले खटाउँछ कि सोझै अध्यक्षले तोक्छन् ! महासचिव ईश्वर पोखरेल र कार्यालय सचिव शेरबहादुर तामाङले यस्ता युवाको खेलकुदसम्बन्धी अभिलेख राख्छन् कि राख्दैनन् ? पार्टी अफिसचाहिँ ‘बेकारीहरू जाने ठाउँ’ मा रुपान्तरण भएको छ ।

फलतः ‘यो देशमा आउँदो २० वर्षसम्म केपीको कुनै विकल्प छैन, उहाँले भन्नुहुन्छ भने धरहराबाट हामफाल्छु’ भन्नेहरू जिल्ला–जिल्लामा संगठन बनाउन पुगेका छन् । उनीहरू कम्युनिष्ट पार्टीको झण्डा फहराउँदै मोटरसाइकल ¥यालीसहित मानिसलाई आतंकित बनाउने गर्दछन् ।

प्रश्न उठेको छ– यसरी बनेको संगठन कस्तो हुन्छ ? यस्ता मानिसले उत्पादन गरेका कम्युनिष्ट कस्ता हुन्छन् ? त्यसमाथि एमालेमा केपी ओली आफू पार्टीको संस्थापक हुने, मदन भण्डारी फाउण्डेशनका नाममा समानान्तर गतिविधि पनि जारी राख्ने । एमालेमा योगदान, संघर्ष, इतिहास, त्याग, बलिदानको मापन अब मंसिरमा हुने महाधिवेशनले कसरी गर्ला ? हेर्न बाँकी नै छ ।

टिप्पणीहरू